
पोखरा न्यूज सम्वाददाता । नेकपा एमाले भित्रको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ ।
पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गर्नुभएको हो । यसअघि गत बैशाख ३० गते दुई नेताबीच भएको बैठकमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो ।
आइतबार सिंहदरबारमा अध्यक्ष ओलीसंग भेट गरेर बाहिरिने क्रममा नेता नेपालले दुवै पक्षका ५ ५ जना सदस्य रहेको १० सदस्यीय कार्यदल गठन भएको जानकारी दिनुभएको हो । उहाँले आफूले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई पठाएको ६ बुँदा र २०७५ जेठ २ गते भन्दा पहिलेको अवस्थामा पार्टीलाई फर्काउने गरी अरु बाँकी सबै कुराहरु टुंगो लगाउनका लागि कार्यदल गठन भएको जानकारी दिनुभयो ।
कार्यदलमा नेता नेपाल पक्षबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त तथा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीको पक्षबाट नेता सुवास नेम्वाङ्गको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ ।
कार्यदललाई ३ दिनको समय दिइएको छ ।





