
पाेखरा न्यूज । ७४ वर्षीय एक वृद्धसहित ४ जना भरुवा बन्दुक, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सामानसहित खोटाङमा पक्राउ परेका छन् ।
खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ पर्नेमा सोही स्थानका ७४ बर्षीय कृष्ण बि.क, ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की र २६ बर्षीय रबिन्द्र कार्की रहेका छन् ।
शनिबार राती १० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको छ भने बि.क.लाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ४ जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको जनाइएकाे छ ।





