एउटै फिल्म १० पटकसम्म हलमा गएर हेरिन्थ्योः रेम रसाइली

फिल्म निर्माण क्षेत्रमा हात हाल्ने योजना

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । रेम रसाइली कलाकारिता तथा पत्रकारिता क्षेत्रमा क्रियाशील प्रतिभा हुनुहुन्छ । बागलुङको बोंगादोभानमा जन्मिनुभएका उहाँले हाल पोखरामा बसेर यात्रालाई अगाडि बढाइरहनु भएको छ ।

नेपाली फिल्म, टेलिफिल्म, नाटक, सर्ट मुभी, म्युजिक भिडियोमा उहाँले अभिनय गर्नुभएको छ । उहाँको डेब्यु फिल्म ‘नेपथ्य’ हो । फिल्म नाइके, टेलिफिल्म सिँहदरबारले उहाँलाई धेरै माझ चिनायो । विविसिले बनाएको ‘डकुड्रामा’ मार्फत समेत आफ्नो अभिनयकला देखाउनुभयो । नाटक र म्युजिक भिडियो मात्र नभएर सर्ट मुभी मार्फत उहाँले गरेको अभिनय दर्शकले रुचाए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीको निवर्तमान अध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष, युथ क्रियशन थिएटरको उपाध्यक्ष रहनुभएका उहाँ नेपाल पत्रकार महासंघ कास्कीको सह–सचिव हुनुहुन्छ ।

निरन्तर पत्रकारिता तथा कलाकारिता क्षेत्रमा लाग्ने सोच बनाउनुभएका रेमको भविष्यमा फिल्म निर्माण क्षेत्रमा हात हाल्ने योजना छ । उहाँले पोखरामा रेजामार्ट प्रालि सञ्चालन गरेर व्यवसायिक यात्रालाई समेत अगाडि बढाउनुभएको छ । पुरै समय कलाकारिता क्षेत्रमा समय दिन नसकेपनि कुनै कुनै रुपले यो क्षेत्रसँग आवद्ध रहने उहाँको लक्ष्य हो । फिल्मप्रतिको मोह भने बाल्यकालदेखिनै भएको उहाँ बताउनुहुन्छ ।

सानैदेखि फिल्म प्रति क्रेजी

फिल्मको बारेमा सानैदेखि नै जाऊँ । म बागलुङको कर्णाली भन्दा पनि हुन्छ, बोंगादोभान भन्ने ठाऊँमा जन्मिएको हुँ । नजिकैको ठुलो बजार भनेको बुर्तिबाङ । त्यो बेलामा हाम्रो गाऊँमा गाडी पुगेको थिएन । मेरो मामाको इलेक्ट्रोनिक पसल थियो । त्यही पसलमा मामाले फिल्म अनि दोहोरीका क्यासेटहरु ल्याउनुहुन्थ्यो । त्यसको केहि पछि मामाले मट्टीतेलबाट चल्ने जेनेरेटर र सोनीको २१ इन्चको टिभी ल्याउनुभयो । सानो अध्यारो कोठामा गुन्द्री ओछ्याएर टिभीमा फिल्म हेरिन्थ्यो । बाल्यकालमा त्यही थियो फिल्महल । आफ्नै मामाको फिल्म हल भएपछि जति बेलापनि फिल्म हेर्न पाईने । फिल्मको लत यतिसम्म लाग्यो कि, पछि त पढाइ बिग्रन्छ भनेर मामाले आफ्नै भान्जालाई पनि फिल्महलमा ब्यान गरिदिनुभयो ।

एक टिकटमा दुई फिल्म पनि हेरियो

बुर्तिबांगमा हाइभिजन हल थियो । हलवालाको छोरो मेरो साथी । त्यहाँ पनि खुब फिल्म हेरियो । भनौँ न ठुलो पर्दामा फिल्म हेरेको त्यहीँ हो । पछि एसएलसी दिएर पोखरा पढ्न आएपछि त झन् यति फिल्म हेरियो कि कुरै छाडौँ । एउटै फिल्म १० पटकसम्म हलमा गएर हेरिन्थ्यो । किन फिल्म हेरिस् भनेर गाली गर्ने नि कोही थिएनन् । फिल्मको यति लत लाग्यो कि जुनसुकै फिल्म फेरिए पनि हेर्थेँ । त्यो बेला नयाँबजारको दीपज्योती सिनेमा हलमा एक टिकटमा दुई फिल्म चल्थ्यो, हुँदा हुँदा त्यस्ता फिल्म पनि हेरिन्थ्यो ।

फिल्म हेर्दा हिरो हुने सपना पाल्थे

फिल्म हेरिरहँदा म पर्दाको पात्रसँग जहिल्यै आफूलाई दाँज्थे । म भएको भए यसो गर्ने थिएँ, उसो गर्ने थिएँ, यस्तै यस्तै चल्थ्यो दिमागमा । मन मनै सोँच्थेँ, एक दिन यसरी नै फिल्ममा हिरो हुन्छु । र, मलाई हेर्न पनि मानिसहरु टिकट काटेर हलसम्म आउन् । मेरो पनि पोस्टर सडकका भित्ता अनि पोल पोलमा टाँसिऊन् ।

पत्रकारिता बन्यो अभिनय क्षेत्रको खुड्किलो

म कलेज पढ्दै जाँदा स्नातक तहको अन्तिमतिर एउटा वैकल्पिक विषय छान्ने अवसर आयो । त्यहि वैकल्पिक विषय मैले पत्रकारिता छाने । किनभने पत्रकारिता पनि मलाई पहिल्यैदेखि ग्लामरस फिल्ड लाग्थ्यो । त्यसैमाथि म सानैदेखि पढ्न लेख्न रुचाउने मान्छे थिएँ । मेरो त्यही बानीले पनि मलाई पत्रकारितातिर डोर्यायो, शायद । त्यहि सानो हुँदाको फिल्मी सपना पछि आएर पत्रकारितामा पोखियो, शब्दमार्फत । पत्रकारिता नै हो मेरो फिल्मी अनि अभिनय क्षेत्रको खुड्किलो । यसैलाई आधार बनाएर मैले रंग क्षेत्र अनि रंगकर्मीहरुसँग सम्बन्ध बढाएको हुँ ।

फिल्म हेर्न हलमै मज्जा

मलाई फिल्म हेर्न त हलमै मज्जा लाग्छ । किनभने हल फिल्म हेर्नकै लागि बनेको हो । हलमा छिर्नासाथ फिल्मी परिवेश अनि माहौल हुन्छ । तर घरमा हेर्दा पनि नमज्जा लाग्ने चाहिँ होइन । अहिले त घरमै बसेर फिल्म हेर्न पर्ने बाध्यात्मक अवस्था छ । घरमा चाहिँ अहिले बढि जस्तो क्राइम थ्रिलर बेसका सिरिजहरु हेरिरहेको हुन्छु ।

दिलिप दाइ अझै मलाई बेस्ट

खोई किन हो कुन्नी मलाई त नेपाली फिल्ममा सबैभन्दा मनपर्ने कलाकार दिलिप रायमाझी हुन् । बाल्यकालमा उनैको फिल्म धेरै हेरेकोले पनि हुन सक्छ । र, उनले खेल्ने हरेक चरित्रमा आफूलाई पाएर पनि हुन सक्छ । अभिनय, नृत्य, लुक्स अनि गेटअप सबैजसो कुराले गर्दा दिलिप दाइ अझै पनि मलाई बेस्ट लाग्छ ।

नेपाली फिल्ममा प्राविधिक दक्षताको खाँचो

नेपाली फिल्मका थुप्रै सकारात्मक पक्षहरु छन् । फिल्मकै कारण थुप्रैजनाले रोजगारी पाएका छन् । यसले नेपाली कला सँस्कृतिको जगेर्ना गर्ने काम गरेको छ । नेपालका कथाहरुलाई पर्दामा ल्याउनुसँगै त्यसलाई अन्तराष्ट्रियस्तरमा पुर्याउने कामपनि फिल्मले गरेको छ । यद्यपी नेपाली फिल्मले प्राविधिक दक्षता अझै बढाउनुपर्ने देखिन्छ । र, जति नेपाली फिल्मले नेपालका कथाहरु पर्दामा देखाउनुपर्ने हो त्यति नदेखाइरहेको अहिलेको अवस्था हो । त्यसैले फिल्ममेकरहरुले यो विषयलाई मनन् गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button