चलचित्र पत्रकार संघ कास्कीले भर्चुअल रूपमा मनायो स्थापना दिवस

पोखरा न्यूज । चलचित्र पत्रकार सङ्घको २२ औँ स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल रूपमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष रेम विक, सल्लाहकार भोजबहादुर गुरुङ, जितेश प्रधान, राजाराम पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार समाजको संवाहक भएको बताउनुभयो । चलचित्रले सिङ्गो देश परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उदाहरण दिँदै यसको विकासका लागि चलचित्र पत्रकार संघ कास्कीसँग समन्वय गरेर महासङ्घले कार्यक्रम तय गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

उहाँले कोरोना सङ्क्रमणका कारण नेपालभर १२ जना पत्रकारले ज्यान गुमाएको जानकारी गराउँदै सुरक्षित तवरले पत्रकारिता पेसामा खटिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,“ यो बेला जीवन जोगाउने बेला हो । आफूलाई जोगाएर पत्रकारिताको धर्म निभाउन आग्रह गर्दछु । रङ्ग पत्रकारमा परेका समस्यामा पत्रकार महासंघ सँगै छ । अप्ठेरो परेको बेला सम्झिन अनुरोध छ ।” सबै क्षेत्रका पत्रकारको हितका लागि महासङ्घले कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको उहाँको भनाई छ ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०५५ सालमा भरत शाक्यको अध्यक्षतामा चलचित्र पत्रकार सङ्घको स्थापना भएको जानकारी गराउनुभयो । २०६० सालमा पोखरामा स्थापना भएको बताउँदै पछिल्लो कार्यसमितिबाट उदाहरणीय काम भएको प्रति खुसी व्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष रेम विकले चलचित्रका क्रियाकलाप नहुँदा पनि सङ्घले कार्यक्रमहरूको आयोजना गर्नु सह्रानीय भएको बताउनुभयो । कोरोनाका बेला पनि भर्चुअल रूपमा कार्यक्रमको आयोजना गर्न उहाँले आग्रह गर्नुभयो ।

गुरुङ फिल्म एसोसिएसनका जिफानका अध्यक्ष भोजबहादुर गुरुङले कोरोनाले गुरुङ चलचित्र क्षेत्रलाई असर गरिरहेको जानकारी गराउनुभयो । समय सापेक्षिक चलचित्र निर्माणमा जोड दिँदै चलचित्र पत्रकारहरूमा पनि प्राविधिक अध्ययनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

चलचित्र पत्रकार संघ कास्कीका सल्लाहकार राजाराम पौडेलले महामारीका समयमा सबै एक भएर हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । चलचित्रका गतिविधि नभएता पनि पत्रकारले चलचित्र जगतको समस्या र अवस्थाको विषयमा खोजी गर्नुपर्ने विषयलाई उहाँले जोड दिनुभयो ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले २२ औँ स्थापना दिवसका अवसरमा प्रदान गरिने जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्न नपाउँदा दुख लागेको बताउनुभयो । कोरोना कहर साम्य हुनासाथ उपयुक्त समयको व्यवस्थापन गरी पत्रकारिता पुरस्कार प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।

सङ्घले गरेका गतिविधिका बारेमा जानकारी गराउँदै अध्यक्ष गिरीले आफू नेतृत्वको कार्यसमिति आएपछि कोरोना महामारी पनि आएको र सोचेजस्तो काम अझै गर्न नसकिएको जनाउनुभयो । आगामी दिनमा पत्रकार महासङ्घसँग सहकार्य गरेर चलचित्र क्षेत्रको विकासका लागि कार्यक्रमको आयोजना गरिने उहाँको भनाई थियो ।

कार्यक्रममा सल्लाहकार जितेश प्रधान, चलचित्र व्यवसायी तथा जित प्रसाद द्वा पत्रकारिता पुरस्कारका संस्थापक निकेश द्वाले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रभु अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button