
राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । नेपाली फिल्मको इतिहास सत्य हरिशचन्द्र फिल्मबाट सुरु हुन्छ । डी.बी परियारले कलकत्तामा बनाउनुभएको फिल्मलाई नेपाली भाषामा डबिङ गरेर २००८ सालमा काठमाडौँको नारायणहिटी दरवारमा सार्वजनिक गरिएको थियो । नेपालमा नै बनेर प्रदर्शन भएको पहिलो फिल्म आमा हो । हीरासिंह खत्रीले निर्देशन गरेको फिल्मलाई २०२२ साल असोजमा प्रदर्शन गरिएको थियो । सरकारी लगानी निर्माण गरिएको यो फिल्ममा अभिनय गर्नुभएका शिवशंकर मानन्धर र भुवन चन्द्रलाई नेपाली फिल्मको पहिलो नायक नायिका मान्ने गरिन्छ । आमा फिल्म निर्माण हुनुभन्दा अगाडिनै निजी लगानीमा निर्माण थालिएको माइतीघर फिल्म भने आमा फिल्म पछि मात्र सार्वजनिक हुनपुग्यो । त्यसपछि विस्तारै नेपाली फिल्म निर्माण हुने क्रम मात्र बढेन फिल्म प्रति दर्शकको आर्कषण बढ्न थाल्यो ।
मनको बाँध, कुमारी, सिन्दुर, जीवनरेखा, परालको आगो मात्र नभएर सम्झना, कुसुमे रुमाल, लाहुरे, कान्छी, वासुदेव, साइनो, कोसेली, चिनो, बलिदान, सिमारेखा, कन्यादान फिल्मले दर्शकको माया मात्र नभएर नेपाली फिल्म क्षेत्रमा आशाको सञ्चार गराए । विस्तारै फिल्म निर्माण हुने क्रम मात्र बढेन अभिनय गर्ने कलाकार तथा फिल्म हेर्ने दर्शकको संख्यामा समेत वृद्धि हुनपुग्यो ।
यसरी लामो इतिहास बनाइसकेको नेपाली फिल्म क्षेत्रले केही सकारात्मक उर्जा थपे पनि आशातित सफलता हासिल गर्न सकेको भने छैन । अब झनै चुनौती थपिदै गएको छ । विश्वबजारमा सजिलै बिक्ने खालका फिल्म निर्माण गर्नुपर्ने आवश्यकता अहिले देखिएपनि सो अनुसार फिल्म क्षेत्र अगाडि बढ्न सकेको छैन । जसका लागि सुधारको खाँचो अति आवश्यक बनेको छ । मौलीकतामा जोड दिदै प्रविधिको सही प्रयोग गर्दै फिल्म निर्माण हुनुपर्ने अवस्था अहिले सिर्जना भएको छ ।

अभिनेता पुष्प बहादुर खड्का नेपाली फिल्मको कन्टेनमा परिवर्तन गर्नुपर्ने बताउनुहुन्छ । अब कन्टेनमा परिवर्तन गर्नुपर्छ । लवस्टोरी भन्नासाथ केटाकेटी मिल्यो छुट्यो टाइपको मात्र हुन भएन । हाम्रो नेपाली ऐतिहासिक परम्परा छ, इतिहास छ । त्यसलाई फिल्ममा ल्याउनुपर्छ । यहाँ थुप्रै प्रसिद्ध व्यक्तिहरु हुनुहुन्छ उहाँहरुको कन्टेन ‘वायोपिक’ फिल्म मार्फत ल्याउनुपर्छ । बलिउड, हलिउडमा यस्तो बढी देखिन्छ । हामीसँग थुप्रै त्यस्ता कन्टेन छन् जुन फिल्मको माध्यमबाट ल्याउन सकिन्छ । यसरी ल्याउनसके दर्शकले समेत नौलौ अनुभूति गर्न पाउँछन् । अभिनेता खड्काले भन्नुभयो ।
अर्का अभिनेता प्रमोद अग्रहरी सबैलाई अपनत्व हुने खालको नेपाली फिल्म बनाउन अगाडि बढ्नुपर्नेमा जोड दिनुहुन्छ । सुधार जहाँ पनि गुर्ननै पर्छ । सन्तुष्ट कहिल्यै हुन सकिदैन । सबैजना मिलेर राम्रो गर्न लागिपर्नुपर्नेछ । सबैलाई अपनत्व हुने खालको नेपाली फिल्म बनाउन अगाडि बढ्नुपर्छ । गर्वका साथ भन्न सकौ म नेपाली फिल्मको कलाकार हुँ भनेर । यस्तो खालको टिमले बनाएको हो सबैले हेरौ भनेर भन्ने खालका फिल्म बनाउन सकौं । ती फिल्महरु अन्तराष्ट्रिय बजारमा पु¥याउन सकौ । तर, हामी निरास हुनुपर्ने अवस्थामा छैनौ प्रयास भइरहेको छ । हामी सहि ट्रयाकमा छौँ । विस्तारै अपग्रेड गर्दै अगाडि बढ्नुपर्छ । अभिनेता अग्रहरीको तर्क छ ।
फिल्म निर्माता किसान पोखरेल प्रविधिको प्रयोग गरेर मोवाइलमा चल्ने, हेर्ने र त्यहीबाट आम्दानी हुने फिल्म बनाउनुपर्ने अवस्था आएको बताउनुहन्छ । विगतमा हामीले विषयवस्तुमा केन्द्रित भएर फिल्म बनायौ । त्यस्ता फिल्ममा पात्र बोल्दैन, विषयवस्तु बोल्छ । तर अहिले विषयवस्तुभन्दा पात्र प्रधान हुन्छ । डिजिटल प्रविधि आयो । हलिउड, बलिउडका फिल्म यहाँ बसेर हेर्न पाइन्छ । यहाँका फिल्म पनि संसारभरी हेर्न पाउने अवस्था भएको छ । यसरी फिल्म हेर्ने अवस्था हुँदा नेपाली फिल्मले बलिउड, हलिउड फिल्मसँग प्रतिष्पर्धा गर्न सकेको छैन । अब हामीले मौलिक फिल्म बनाउन पर्छ, आफ्नो संस्कृति झल्काउने फिल्म बनाउनुपर्छ जसले नेपाली फिल्म प्रतिको आर्कषण बढाउन सघाउँनेछ । अर्काे कुरा हाम्रो देशमा नीति नभएकै कारण हामी पछि परेका छौँ । राम्रो फिल्म बनायो भने चलाउने कहाँ ? हलमा मानिस आउदैन । अब प्रविधिको प्रयोग गरेर मोवाइलमा चल्ने, हेर्ने र त्यहीबाट आम्दानी हुने फिल्म बनाउनुपर्नेमा उहाँको जोड छ ।
कलाकार प्रदीप ढकाल नेपाली फिल्मको सुधार गर्नुपर्ने मुख्य ठाउँ कास्टिङ भएको तर्क गर्नुहुन्छ । कास्टिङमा नेपाली फिल्म उद्योग निकै कमजोर छ । कास्टिङ डाइरेक्टरहरु छैनन् । राम्रो कलाकार उद्योगमा छन् । तर राम्रो कलाकार छानेर कुन क्यारेक्टरलाई कुन कलाकार उपयुक्त हुन्छ भन्ने रिसर्च हुँदैन । त्यही काठमाण्डौंमा कलाकार छन् । त्यहींबाट आपसमा काम चलाउछन् । त्यही कलाकारकालाई बारम्बार दोहो¥याउछन् । यो नराम्रो पक्ष हो । मेरो एउटै आग्रह छ एक्टर भेरायटी हुनुपर्छ फिल्ममा । कास्टिङ भेरायटी हुनुपर्छ नयाँ–नयाँ कलाकारलाई अवसर दिनुभयो भने पब्लिकले पनि हेर्न रुचाउँछ । त्यही कलाकार आएका छन्, उस्तै फिल्म खेलिरहेका छन् । उद्योग डुब्ने कारण मेरो विचारमा कास्टिङ डाइरेक्टर नभएर हो । अहिले विस्तारै यसमा ध्यान दिइरहेका छन्, यो प्रयाप्त हैन, सुधार गर्न बाँकी नै भएको कलाकार ढकालले सुनाउनुभयो ।
पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधान कथा भन्ने शैलीमा परिवर्तन गर्नुपर्ने बताउनुहुन्छ । सुधार गर्नुपर्ने कुरा भनेकोनै हामीले कसरी कस्को कथा भन्छौ भन्ने कुरा नै हो । हामीले हाम्रो आफ्नो कथा भन्नुपर्छ । खाली अरुको फमुर्ला स्टोरीलाई मोडेर नेपालको परिवेशमा ढालेर कथा भन्ने शैली परिवर्तन गर्नुपर्छ । हाम्रो वरिपरि यति धेरै कथा छन् । तर एउटा, दुईवटा फिल्म मेकरले बाहेक अरुले यहाँका कथा देखेका छैनन् । जब मानिसले आफ्नो जस्तै कथा पर्दामा देख्छन् तब मात्र मानिस हलसम्म जान्छन् । उदारणको लागि छक्का पञ्जा फिल्मलाई लिन सकिन्छ । मानिसले देखेको भोगेको कथा छ र पो त्यत्रो व्यापार गर्न सफल भयो । नेपाली फिल्ममा कथा भन्ने शैलीलाई फिल्म निर्माताले छिट्टै सुधार गर्नुपर्ने उहाँको बुझाई छ ।

कलाकार प्रकाश घिमिरे राम्रो फिल्म बनाउन स्क्रिप्ट सेलेक्सन गर्दा देखिनै विचार गर्नुपर्ने बताउनुहुन्छ । समाजलाई नै फिल्ममा देखाउने हो । त्यसका लागि राम्रो स्क्रिप्ट र राम्रो प्रोडुसर चाहिन्छ । फिल्म बुझेका निर्माताले लगानी गर्ने हो भने नेपाली फिल्मी क्षेत्र राम्रो हुने थियो । पाउने भन्दा केही योगदान गर्छु भन्ने खालको निर्माताको खाँचो यहाँ छ । यस्ता खालका निर्माता हुने हो भने बजार समेत विस्तार हुने विश्वास उहाँको छ ।
कलाकार तथा निर्देशक माओत्से गुरुङ नेपाली फिल्ममा विविधता खोज्न जरुरी भएको बताउनुहुन्छ । प्रायः नेपाली सिनेमा एउटै–एउटै जस्तो लाग्छ । एउटै जनरामा फिल्म बनेका छन् । नेपाली सिनेमामा विविधता खोज्न जरुरी भएको गुरुङले बताउनुभयो ।
निर्देशक घनश्याम लामिछाने हाम्रो आफ्नै बिषय र शैलिमा सिनेमा बनाउनेतर्फ सोच्नुपर्ने तर्क गर्नुहुन्छ । राज्यको समेत नेपाली सिनेमामा चासो र लगानी रहनुपर्छ । मलाई नेपाली सिनेमलाई सञ्चार मन्त्रालय अन्तर्गत राखेको मन परेको छैन । नेपाली फिल्मलाई सञ्चार मन्त्रालय अन्तर्गत नराखी सांस्कृतिक मन्त्रालय अन्तर्गतनै राख्नुपर्छ । फिल्मकर्मी तथा सरकार दुवैको साथ मिलेको खण्डमा नेपाली फिल्म प्रतिको आर्कषण बढ्ने उहाँको दावी छ ।
निर्देशक नेत्र गुरुङ नेपाली फिल्मको सबैभन्दा सुधार गर्नुपर्ने पक्ष साउण्ड डिजाइन भएको बताउनुहुन्छ । यसैगरी सिनेमाघरको पर्दा, साउण्ड सिस्टम, प्राविधिक समेत अपडेटेड तथा फिल्म बुझेको भए गरेको आउटपुट देखिन्थ्यो । यो ठुलो समस्या बनेको छ यसमा सुधार हुनुपर्नेमा उहाँको आग्रह छ ।
गुरुङ फिल्म एशोशिएसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङ विश्वबजारमा स्थान पाउने खालका फिल्म बनाउनुपर्नेमा जोड दिनुहुन्छ । अहिलेसम्म नेपाली फिल्मकर्मीले नेपालीकै टार्गेट गरेर सिमित दर्शकलाई मात्र लक्षित गरेर फिल्म बनाइरहेका छन् । अब बजार विस्तार गर्नुपर्छ । नेपाल बहुभाषी, बहसंस्कृति भएको ठाउँमा बन्ने फिल्म विश्वबजारमा सजिलै बिक्न सक्छ । नेपाल सुन्दर दृश्यमा मात्र संस्कार, संस्कृतिमा धनी छ । यहाँ धेरै मौलिक कथाहरु छन् । ती कथाहरुलाई राम्रोसँग बुन्न सकियो भने अथवा बुनेर फिल्म बनाउन सकियो भने विश्वबजारमा यस्ले राम्रो स्थान पाउनेछ । अब नेपाली फिल्मकर्मीले मौलीक फिल्म, देश सुहाउँदो फिल्म बनाउनुपर्छ । मसलेदारको मात्र पछि लाग्नु हुँदैन मौलीक फिल्मतर्फ अझै प्रेरित हुनुपर्नेमा उहाँको धारणा हो ।
कलाकार प्रमिला तुलाचन नेपाली फिल्ममा अभिनय सिकेको, थिएटरको अनुभव लिएको कलाकारलाई फिल्ममा प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । मोफसलका प्रतिभावान् कलाकारलाई उतिकै स्थान दिनुपर्छ । फिल्ममा मौलिक विषयवस्तुलाई स्थान दिनुपर्छ । बलिउड, हलिउड ट्रेनलाई पछ्याउनु भन्दा नेपाली मौलीक विषयवस्तुलाई जोड दिुनपर्छ । किनकी अहिले मौलिक कथा हराएका छन् । परालको आगो, माइतिघर, कन्यादान, चिनो जस्ता मौलिक फिल्म आउन छोडे । अब मौलिक कथालाई प्राथमिता दिनुपर्छ बल्ल नेपाली फिल्मको महत्व बढ्ने उहाँको बुझाई हो ।
अभिनेता महेश त्रिपाठी नेपाली फिल्ममा सुधार गर्नुपर्ने धेरै कुरा बाँकी भएको बताउनुहुन्छ । नेपाली सिनेमाले बामे सर्दै गरेको यस परिवेशमा नितिगत रुपमा तथा सिनेमा निर्माणको तवरले सुधार गर्नु पर्ने छ जस्तो आफूलाई लाग्ने उहाँले सुनाउनुभयो ।

कलाकार किसान सुनार नेपाली फिल्मको कथा देखि लिएर अभिनय र प्राविधिक पक्षमा सुधार गर्नुपर्ने बताउनुहुन्छ । अहिले सूचना तथा प्रविधिले विश्वलाई यति सानो र छरितो बनाइदिएको छ । हात–हातमा विश्वका विभिन्न देशका फिल्म हेर्ने पहुँच पुगेको छ । दर्शकले इच्छा अनुसार फिल्म छनोट गरी हेर्न पाएका छन् । तर नेपाली फिल्मलाई माया गरिदिनु भन्दै अनुरोध गर्दै हलमा आएर फिल्म हेर्नु भन्नुपर्ने स्थिती छ । अर्को कुरा कलाकार भनेर चिनिनु भन्दा हिरो र हिरोइन भनेरनै चिनिने धेरैको रहर छ । फिल्मको विषयवस्तुमा खासै ध्यान दिएको पाइदैन । सोही कारण नेपाली फिल्मले विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्न अपेक्षाकृत सकेको छैन । फिल्म बनाउने तरिका र प्रविधि एउटै भएपनि स्कुलिङको कमीले नेपाली फिल्मले गुणात्मक रुपमा फड्को मार्न नसकेको हो भन्ने मलाई लाग्छ । यसमा फिल्मकर्मीले ध्यान दिनुपर्ने खाँचो मैले देखेको छु ।
कलाकार नवराज गिरी फिल्म क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । फिल्म मार्गदर्शनको पाटो पनि हो, व्यापार हुन जरुरी छ आम्दानी बिना फिल्म सफल हुँदैन । फिल्म क्षेत्रको अवस्था सुर्धान सरकारले सहयोग गर्नुपर्छ । सरकार र फिल्मकर्मी मिलेर अगाडि बढ्नुपर्छ । फिल्म भनेको मनोरञ्जन मात्र नभएर समाज र देश परिवर्तन गर्न सक्ने माध्यम हो । फिल्मकर्मी र सरकार दुवैले यसलाई बुझ्दै अगाडि बढ्ने हो भने आर्कषण बढ्ने उहाँको भनाइ छ ।





