पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड विनियोजन

तीन अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका लागि रु २० अर्ब बजेट

पोखरा न्यूज । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न रु २० अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्यीकरण, पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय निर्माणका लागि करीब रु १९ अर्ब बजेट विनियोज गरिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न रु ८ अर्ब ५० करोड विनियोजन गरिएको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न तथा टर्मिनल भवन बनाउन रु छ अर्ब ९५ करोड र भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप निर्माणको काम सम्पन्न गर्न र दोसो टर्मिनल भवन बनाउन रु ३ अर्ब ५३ करोड विनियोजन गरिएको हो ।

यस्तै, आगामी आवमा सरकारले आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा रु १ अर्ब ३३ करोड विनियोजन गरेको छ । इलाम, गुल्मी र डोल्पामा रहेका विमानस्थलमा परीक्षण उडान गर्ने, सुर्खेत र विराटनगर विमास्थलको विस्तार गर्ने, ओखलढुंगा र ताप्लेजुङ विमानस्थलको धावनमार्ग विस्तार गरिनेछ ।

सुकेटार विमानस्थलाई वीन्द्र अधिकारीको नामकरण

बजेटमा सुकेटार विमानस्थलाई पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामकरण गर्ने भएको छ । यस्तै, ताप्लेजुङको चुहाडाँडामा निर्माण हुने विमानस्थलको नामाकरण स्वर्गीय आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ । अधिकारी तथा शेर्पा लगायत पाँच जनाको २०७५ साल फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अवलोकनका लागि गएको बेला हेलिकोप्टर दुर्घटना भएको थियो ।
बजेटमा ससंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका लागि रु २७ अर्ब ४७ करोड विनियोजन गरिएको छ । यो गत आवको तुलनामा बजेटमा बृद्धि हो ।

सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको हो । चालु आवमा पर्यटन मन्त्रालयका लागि रु २६ अर्ब १२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । चालु आवको तुलनामा आगामी आवका लागि पर्यटन मन्त्रालयको बजेट रु एक अर्ब ३५ करोडले बढेको छ ।

पर्यटन प्रवद्र्धन गर्न ग्रेट हिमालय ट्रेलको गुरुयोजना पूरा हुने जनाइएको छ । यस्तै पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने सरकारले नीति रहेको भन्दै अर्थमन्त्री पौडेलले काठमाडौँ आसपास हाइकिङ ट्रेल र पदयात्रा मार्ग बनाईने बताउनुभएको छ ।
कर्मचारीलाई १० दिन पर्यटन काज
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षबाट पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन बराबरको भ्रमण बिदा दिइने बताउनुभयो । उहाँका अनुसार पर्यटक काजकोे नीति अनुसार कर्मचारीलाई दश दिन बराबरको पारिश्रमिक दिइनेछ ।
सरकारी कर्मचारीलाई पर्यटक काज स्वरुप बिदा दिइने र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई सोही अनुसारको सेवा सुविधा दिन प्रेरित गरिने बजेटमा उल्लेख छ ।

निगममा रणनीतिक साझेदार
सरकारले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदारी ल्याउने भएको छ । यसअघि विवादका कारण रोकिएको उक्त योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ । निगमको पुँजी तथा क्षमता वृद्धि गरी सङ्गठन पुनसंरचना परिवर्तन हुने अपेक्षा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button