के हो धर्म ?

सनिस रानाभाट।  धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथ्वीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु भनेजस्तै मानिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुन जान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ ।

मानवीय धर्म भनेका के–के हुन् ?

धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्त्विक आहार विहार गर्नु यी र यस्ता सद्गुणहरू नै धर्म हुन् ।

सनातन धर्म भनेको के हो ?

सनातन धर्म भनेको परापूर्व कालदेखि चलिआएको त्यही मानवीय सद्गुण रूप धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति हुँदैनन् । साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुनुहुन्छ । सनातन धर्म विश्वको सबैभन्दा पुरानो तर वैज्ञानिक धर्म मानिन्छ । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । वेदको आधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ ।

हिन्दु धर्म र सनातन धर्ममा के फरक छ ?

वैदिक सनातन धर्मलाई नै अचेल हिन्दु धर्म भनिन्छ । वेदमा सिन्धु भनिन्थ्यो भने कालिका पुराण, मेरुतन्त्र, शार्ङ्गधर पद्धति आदि ग्रन्थहरूमा हिन्दु शब्दको प्रयोग छ । सनातन धर्मलाई हिन्दु धर्म भन्नुमा यी ५ कारणहरू प्रमुख छन् :

१। हिंसाबाट दूर टाढा रहने भएको हुनाले हिन्दु भनिएको हो ।

२। हीन आचरण र हीन विचारलाई दोष दिने भएकोले हिन्दु भनिएको हो ।

३। कठोर साधनाबाट शरीरका र मनका दोषलाई हीँसित (नष्ट) गर्ने भएकाले हिन्दु भनिएको हो ।

४। हिङकारको शब्द गर्ने गाईलाई दुहुने वा सम्मान गर्ने भएकोले हिन्दु भनिएको हो ।

५। हिमालयदेखि इन्दु सरोवरसम्मको सदाचार पद्धति भएकोले हिन्दु भनिएको हो ।

हिन्दुको लक्षण के हो ?

ॐ कारलाई मूल मन्त्र मान्ने, सदाचार (राम्रो आचरण) मा रहने, पिता, माता र गुरुजनलाई श्रद्धा गर्ने, वेद शास्त्रको वचन पालन गर्ने, गाई, गङ्गा, तुलसी र देवमूर्तिको पूजा गर्ने, ईश्वरमा आस्था राख्ने व्यक्तिलाई हिन्दु भनिन्छ । हिन्दु धर्ममा जाति वर्ग र समुदायको पक्षपात छैन । यो सबैका लागि समान रूपले सम्मान गर्न सिकाउने धर्म हो ।

धर्म के हो ? के होइन ?

धर्म धारणा हो, देखावटी पन होइन । ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म पहिचान हो, अस्तित्व हो, परिवर्तन गर्न मिल्दैन । धर्म जीवनको आधार हो आडम्बर होइन । अन्धविश्वास होइन ।

आफ्नो धर्म छोड्न मिल्छ कि मिल्दैन ?

हाम्रा पूर्वजहरूको लामो इतिहास छ । हाम्रा थर, गोत्र ती इतिहासका साक्षी प्रमाण हुन् । हाम्रा चाड पर्व, रीति रिवाज, भाषा, कला, साहित्य, संस्कृति हाम्रा पहिचानका आधार हुन् । हामीले धर्म छोड्दा बिस्तारै हाम्रा ती सबै पहिचानका आधारहरू छुट्दै जान्छन् । अनि हामी पनि समाप्त हुन्छौँ । त्यसैले हामी कसैले पनि आफ्नो धर्म छोड्नुहुँदैन । धर्म आमा समान हो । आफूलाई जन्म दिने जस्तो भए पनि आमा नै हुन् । फेर्न सकिँदैन । त्यस्तै धर्म जीवनको आधार हो परिवर्तन गर्न मिल्दैन ।

धर्म छाडे के हुन्छ ?

धर्म आफ्नो पहिचान हो, अस्तित्व पनि हो । त्यसैले धर्म छोड्न हुँदैन । आफ्ना पुर्खाले मानिआएको धर्म छोड्दा आफ्नो पहिचान हराउँछ । अस्तित्व हराउँछ । धर्म हराउँदा संस्कृति हराउँछ, संस्कृति हराउँदा हाम्रोपन हराउँछ । हाम्रोपन हराउँदै जाने हो भने एक दिन हाम्रो देश पनि हराउँछ । किनभने धर्म र संस्कृतिविनाको देश प्राणविनाको शरीरजस्तै हो । प्राण नभएको शरीरलाई मुर्दा भनिन्छ । त्यो धेरै दिन टिक्दैन । त्यस्तै धर्म र संस्कृतिविनाको देश धेरै दिन टिक्दैन ।

हिन्दु धर्म कहाँबाट आएको धर्म हो ?

हिन्दु धर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म हो । यहाँका मानिसहरू परापूर्व कालदेखि हिन्दु धर्म मान्छन् । हिन्दु धर्मको मूल आधार वेद हो । वेदको विस्तार यहीँका वेद व्यासले गरेका हुन् । हिन्दुहरूको मूल ग्रन्थ गीता, महाभारत र पुराण लेख्ने व्यास नेपालकै धर्तीका सुपुत्र हुन् । रामायण लेख्ने वाल्मीकि यतै बस्थे । हरेक हिन्दुको घरमा पुजिने शालिग्राम गण्डकी नदीमा पाइन्छन् । विश्वमा जहाँ बसे पनि हरेक हिन्दुले नेपालको पशुपतिलाई आराध्य देव मान्छन् । मुक्तिनाथ, देवघाट नगई नहुने तीर्थ ठान्छन् । हिन्दु धर्ममा नेपाल धर्तीको सम्मान हुने भएकाले हिन्दु धर्म नेपालको मौलिक रैथाने धर्म हो र यो धर्म नेपालको पहिचान पनि हो ।

यहाँका रैथाने धर्म अरू पनि छन् कि ?

छन्, बौद्ध धर्म, किराँत धर्म, प्रकृति पूजा गर्ने यहाँका बासिन्दाका आफ्ना परम्परागत धर्म यहाँका रैथाने धर्म हुन् । यी सबैलाई ॐकार परिवारभित्र समेट्न सकिन्छ । यी सबैलाई समेट्न सनातन हिन्दु धर्म भन्नुपर्छ । यिनको गरिमाले देशको गरिमा जोगिन्छ । यिनको इज्जतले देशको इज्जत जोगिन्छ । त्यसैले नेपालका सबै जाति वर्ग र समुदायका मानिसले आ-आफ्नै परम्पराको आफ्ना पुर्खाको धर्मको पालन गर्नुपर्छ ।

नेपाल धर्मनिरपेक्ष हो कि हिन्दु राष्ट्र हो ?

नेपाल परापूर्व कालदेखि हिन्दु राष्ट्र थियो र वास्तवमा मान्यताको रूपमा आज पनि छ र पछि पनि रहन्छ नै । विगतको संविधानसभामा छलफल नगरी जनताको चाहना विपरीत संविधानमा धर्मनिरपेक्ष लेखिएको भए पनि त्यो राष्ट्र प्रेमी विचारशील जनतालाई स्वीकार्य छैन ।

नेपाललाई धर्मनिरपेक्ष किन भनियो ?

देशलाई अस्थिर बनाउन चाहने र यहाँ आफ्नो प्रभाव बनाइरहन चाहने केही विधर्मीहरूको कुचक्रमा फसेका केही धृतराष्ट्रजस्ता अन्ध र स्वार्थीहरूको लोभ लालचका कारणले अहिले देशलाई धर्मनिरपेक्ष भनिएको हो । तर त्यो जो कसैलाई पनि मान्य हुनै सक्दैन ।

अन्त्यमा, राज्यको धर्म हुँदैन भन्नेलाई सोध्नुपर्छ, राज्यको अस्तित्व हुनुपर्छ कि पर्दैन र? राज्यको सभ्यता हुन्छ कि हुँदैन ? सभ्यताभित्र संस्कृति हुन्छ कि हुँदैन ?, संस्कृतिभित्र पुर्खाको इतिहास हुन्छ कि हुँदैन ? इतिहासभित्र पहिचान हुन्छ कि हुँदैन ?, पहिचानभित्र धर्म हुन्छ कि हुँदैन ?, वास्तवमा धर्मले समग्र सभ्यताको प्रतिनिधित्व गर्ने भएकोले त्यही सभ्यता मेटाउन हाम्रो देशमा धर्मनिरपेक्षता लादिएको हो । यसबाट देशको पहिचान सङ्कटमा पर्छ, अरू केही होइन । बेलैमा सजग बनौँ है।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button