गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

पोखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार भएको मतदानमा ५८ जना सांसद सहभागी भएकोमा पोखरेलको  पक्षमा ३१ मत खसेको छ । उहाँको विपक्षमा २७ मत खसेको छ ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री पोखरेलले काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३१ मत प्राप्त गर्नुभएको हो ।

प्रदेशसभामा माओवादी केन्द्रबाट सांसद नेत्रनाथ अधिकारी सभामुख हुनुहुन्छ । नेकपा एमालेका २७ सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका हुन् ।

दलको कारबाहीमा परी राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद गुमेपछिको अवस्थामा जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पोखरेललाई विश्वासको मत पाउनका लागि ३० जना सांसदको समर्थन आवश्यक थियो ।

सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रदेशमा नयाँ सरकार गठन लगत्तै मन्त्रालय विभाजनमा देखिएको अन्यौलताका कारण र नीति तथा कार्यक्रम पारित गरी बजेट पेस गरेको अवस्थामा बजेटमाथिको छलफलमा त्यसबारे प्रश्न नउठुन् भन्ने हेतुले मुख्यमन्त्री पोखरेलले छिटै विश्वासको मत मागेको आकलन गरिएको छ   ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा काँग्रेसबाट कुमार खड्का, नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ बिना विभागीय मन्त्री रहेका छन् ।

शुक्रबार विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री पोखरेलले वर्तमान मन्त्रीहरूको कार्य विभाजन र मन्त्रीपरिषद् थप विस्तार गर्ने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button