तनहुँमा पिसिआर गर्न सरकारी अस्पतालमै रकम उठाउने ४ कर्मचारीकाे जागिर गयाे

पोखरा न्यूज । सरकारी अस्पताल परिसरबाटै कोरोना जाँचका लागि स्वाव संकलन गरी  पिसिआर परीक्षण गर्न सर्वसाधारणसँग रकम उठाउँदा निलम्बनमा परेका तनहुँका चार जना कर्मचारीकाे जागिर गएकाे छ ।

छिटो  पिसिआर परीक्षण गरिदिने भन्दै अस्पताल परिसर बाटै रकम उठाउने  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चार कर्मचारी उपचार केन्द्रको निलम्बनमा परेका थिए ।

पिसिआर परीक्षण गर्ने भनी सर्वसाधारणसँग रकम उठाएपछि निलम्बन परेका चार कर्मचारीको करार सम्झौता रद्द गरिएको छ । केन्द्रले चार कर्मचारीसँगको करार सम्झौता रद्द गरेको हो ।

फार्मेसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुङ्गाना, रेडियोग्राफर विधान तिमिल्सिना र कार्यालय सहयोगी मदन श्रेष्ठलाई असार ७ को निर्णय बमोजिम निलम्बन भएको मितिदेखि नै तलब लगायतका सुविधा नपाउने गरी करार सम्झौता रद्द गरिएको निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अभियन्ता ज्ञानेन्द्र शाहीसहितको टोलीले उनीहरुलाई अनुगमनका क्रममा गत ज‍ेठ दाेस्राे हप्तामा अस्पताल परिसरमा पैसा उठाउदै गर्दा फेला पारेको थियो । सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भन्दै  सर्वसाधारणलाई डर त्रास देखाउदै सर्वसाधारणबाट पैसा उठाइरहेको अवस्थामा अस्पतालकै कर्मचारीहरुलाई आफुहरुले फेला पारेपछि त्यतिबेला प्रहरी प्रशासनको जिम्मा लगाएको अभियन्ता ज्ञानेन्द्र शाहीले पोखरा न्यूजलाई बताउनुभयो ।

पिसिआर रिपोर्टका लागि भन्दै  सत्र जनासँग उठाएको रु तीन/तीन  हजार नगद टोलीले  नै फिर्ता गराएको थियो भने उनीहरुको स्वाव समेत पोखरा स्थित सरकारी सरकारी प्रयोगशालामामा ल्याएर  परीक्षण गराएको थियो  ।

घटनापछि उपचार केन्द्रले गलत गर्ने उपर कारवाही हुने प्रतिबद्धता जनाएको थियो । उपचार केन्द्रमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रशासन प्रतिबद्ध रहेको  केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button