ग्रामीण क्षेत्रमा सङ्क्रमण बढ्न थालेपछि एन्टिजेनको परीक्षण बढाइँदै

पोखरा न्यूज । शहरी भन्दा ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि स्वास्थ्य कार्यालय तनहुँले एन्टिजेनको परीक्षण बढाएको छ । ग्रामीण भेगमा सङ्क्रमण जोखिम बढेपछि कार्यालयले एन्टिजेनको परीक्षण बढाएको हो ।

स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहलाई एन्टिजेन किट उपलब्ध गराउँदै आएको छ । कार्यालयमा पर्याप्त मात्रामा किट रहेकाले स्थानीय तहले मागेजति किट उपलब्ध गराइने कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । “पिसिआर रिपोर्ट आउन ढिलाई हुने र एन्टिजेन पनि पिसिआर सरह नै भएकाले यसको दायरा बढाएका छौ”, उहाँले भन्नुभयो, “एन्टिजेनबाट १५÷२० मिनेटमै नतिजा आउँछ ।”

नौ दिनको अवधिमा जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो छ । पछिल्लो नौ दिनको अवधिमा मात्रै जिल्लाभर चार सय ६० सङ्क्रमित थपिएका छन् । ग्रामीण भेगमा स्वास्थ्य मापदण्ड बिना हुने भोजभतेर, चियापसलका जमघट लगायतका कारण सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट जिल्लामा ७७ जनाको मृत्यु भएको छ । गत वर्षको पहिलो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको थियो । यस अवधिमा व्यासका १७, भिमादका १२, भानुका छ, म्याग्देका चार, घिरिङका तीन, देवघाटका एक र आँबुखैरेनीका एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button