धौलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पताल

पाेखरा न्यूज । बागलुङको धौलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालमा छनोट भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा तीन पटकसम्म गरेको मूल्याङ्कनका आधारमा ५० शय्याको अस्पतालमध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा शर्त मापनमा ५० शय्या क्षमताका गोर्खा अस्पताल, म्याग्दी अस्पताल र धौलागिरी अस्पतालमध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताउनुभयो । अघिल्लो वर्षदेखि शुरु भएको उक्त सर्वेक्षण कार्यक्रममा गत वर्षसमेत धौलागिरी अस्पताल नै उत्कृष्ट छनोट भएको थियो । गत वर्ष ६६ प्रतिशत अङ्क पाएको धौलागिरी अस्पतालले अहिले ७३ प्रतिशत पाएको छ । गत वर्षको तुलनामा अस्पतालमा धेरै सकारात्मक परिवर्तन भएको पाइएको जनस्वास्थ्य निरीक्षक दानीको भनाइ छ ।

यसैगरी म्याग्दीको बेनी अस्पतालले ६६ प्रतिशत र गोर्खा अस्पतालले ४० प्रतिशत अङ्क प्राप्त गरेको छ । सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्याङ्कनका आधारमा धौलागिरी अस्पताल उत्कृष्ट भएको हो । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिएको थियो ।

अस्पतालको सुदृढीकरणका लागि तय गरिएका रणनीतिक योजना, गण्डकी प्रदेश सरकार, जनप्रतिनिधि, स्थानीय तह तथा अन्य सङ्घसंस्थाको सहयोग र अस्पतालको सिङ्गो टोलीको सक्रियताका कारण अस्पतालको सेवामा वृद्धि भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । निर्देशनालयका अनुसार यो अस्पतालले चालू आर्थिक वर्षको शुरुमा ५७ प्रतिशत, मध्यमा ६५ प्रतिशत र आर्थिक वर्षको अन्त्यमा ७३ प्रतिशत अङ्क प्राप्त गरेको हो । अस्पतालले अझै केही पक्षमा सुधार गर्ने हो भने ९० प्रतिशत ल्याउने निर्देशनालयको भनाइ छ । निर्देशनालयका अनुसार आकस्मिक कक्ष र शल्यक्रिया कक्षमा केही परिवर्तन गर्न जरुरी रहेको जनाएको छ ।

निर्देशनालयका सुझाव अनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । “तीन अस्पतालमा उत्कृष्ट भएको छ, मन्त्रालयबाट आएको यो खबरले हाम्रो अनवरत खटाईको मूल्याङ्कन भएको महसुस भएको छ,” उहाँले भन्नुभयो, “अस्पतालमा अझै धेरै व्यवस्थापन र सुधार गर्नुपर्ने छ, जनशक्तिको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेछ, हामी यो अस्पताललाई प्रदेशकै गुणस्तरीय सेवा र सुधारसहितको अस्पताल बनाउन चाहन्छौ ।” रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button