फिल्म हेर्न सहज थिएन, निकै दुःख गर्नुपर्थ्यो

राजाराम पौडेल । केही वर्ष पहिले सम्म फिल्म हेर्नको लागि अहिलेको जस्तो सहज थिएन । फिल्म हेर्नको लागि कि हलमा पुग्नुपथ्र्यो । अर्को वैकल्पिक माध्यम भनेको डिभिडि, भिसिडि अथवा टेलिभिजन मार्फत थियो । सबैको पहुँचमा यस्ता सामाग्री थिएनन् । सोही कारण निकै दुःख गरेर फिल्म हेर्नुपर्ने बाध्यता थियो । अझ त्यतिबेला फिल्म हेर्ने मानिसलाई राम्रो दृष्टिकोणले हेरीदैनथ्यो । फिल्म हेर्‍योे भने विग्रीन्छ भन्ने मान्यता हाबी थियो । जसका कारण धेरै जनाले ढाँटेर, छलेर, भागेर फिल्म हेर्ने गर्नुुहुन्थ्यो ।

फिल्म हेर्नको लागि पैसाको समस्या समेत धेरैलाई हुन्थ्यो । जसोतसो पैसा जोहो गरेर फिल्म हेर्न हलसम्म पुग्न सहज थिएन । तर, विभिन्न विकल्पकलाई प्रयोग गरेर आफ्नो फिल्म हेर्ने रहर पुरा गर्ने धेरै हुनुहुन्छ ।

फिल्म हलमा पुग्दा समेत भिडको कारणले हलभित्र टिकट काटेर प्रवेश गर्न झनै कठिन हुन्थ्यो । उहाँहरुको अनुभव सुन्दा रमाइलो लाग्छ । कति नयाँ पुस्तालाई पत्यार नलाग्न पनि सक्छ । किनकी अहिले हात हातमा भएको मोबाइलबाट नै सजिलै फिल्म हेर्न सकिन्छ ।

फिल्म हेर्नको लागि परासी देखि गोरखपुरसम्म पुगेको अनुभव अभिनेता प्रमोद अग्रहरीसँग छ । म परासीबाट ९ किलोमिटर सुनौल गएर फिल्म हेर्थे । राजेश हमालको फिल्म ‘अधिकार’ लगायतका फिल्म सुनौल गएर हेरेको थिए । घरबाट ११ किलोमिटर टाढा इन्डियाको बोर्डर गएर समेत फिल्म हेरे । फिल्म हेर्नको लागि गोरखपुरसम्म पुग्थे ।

पढाइ पनि बाहिर बाहिर होस्टेलमा नै भयो । म टेलिभिजनसँग त्यति नजिक भने भइन । बाल्यकालमा हिन्दी सिरियलहरु लगायतका केही कार्यक्रम टिभीमा हेर्थे । घरमा हुँदा कहिलेकाही मन परेको खण्डमा टिभीमा फिल्म समेत हेरिन्थ्यो । तर मलाई टिभी हेर्न गाह्रौ नै हुन्थ्यो । घरमा भिसिआर भएकोले चक्का ल्याएर केही फिल्म हेरियो ।

गाउँबाट पोखरामा पढ्न आएपछि नै धेरै फिल्म हेर्न थालेको हाँस्य कलाकार युवराज भण्डारीले सुनाउनुभयो । पोखरामा पढ्न आएपछि नै धेरै फिल्म हेर्न थालियो । फिल्म हेर्ने माध्यम हल नै थियो । त्यतिबेला घरबाट दिएको पैसा बचाएर नै फिल्म हेरिन्थ्यो ।

त्यतिबेला पृथ्वीनारायण क्याम्पस पढ्दा पहिलो सो मा नै फिल्म हेर्न जाने साथीहरुसँग प्रतिष्पर्धा हुन्थ्यो । एक पटक उत्तम प्रधानले अभिनय गरेको एउटा फिल्म चलेको थियो विन्ध्यवासिनी हलमा । सबै ठाउँ प्याक भएछ । उभिने ठाउँ समेत प्याक भएकोले फस्टसिट भन्दा अगाडीको कुनामा उभिएरै फिल्म हेरिएको थियो ।

गाउँमा नै छँदा मैले ‘टाइटानिक’ फिल्म हेर्न पाएको थिए । गाउँको हजुरबुबा साउदी जानु भएको थियो । उहाँ २०५३ सालमा फिर्ता हुनुभयो । आउँदा टिभी र डेक ल्याउनु भएको थियो । उहाँकोमा नै ‘टाइटानिक’ फिल्म हेरियो । त्यतिबेला शुक्रबार बेलुका आउने नेपाली फिल्म हेर्न अर्काको घरमा गइन्थ्यो । मलार्ई हिन्दी फिल्म भने पटक्कै हेर्न मन लाग्दैन । हिन्दी फिल्म हलमा गएर अहिलेसम्म एउटा मात्र फिल्म हेरेको छु । त्यो फिल्म ‘मर्डर’ थियो । गीतकै कारण मैले यो फिल्म हेरेको थिए । यो फिल्म हेर्नुको अर्को कारण ‘टङ किस’ को सिन थियो ।

हलमा फिल्म हेर्दा चिच्याउने हुटिङ गर्ने बानी थियो । हलमा बत्ति गयो भने चिच्याउने, फिल्मको सिन काटेको थाहा भयो भने चिच्याउने, सिठी लाएर कराउन गरिन्थ्यो । मेरो हलमा फिल्म हेर्दा हाँसेर कराएर भरपुर मनोरञ्जन लिए फिल्म हेर्ने बानी छ । फिल्म हेरेपछि साथीलाई फिल्मको बारेमा गफ लगाउने चलन थियो । यसरी गफ लगाउदा फिल्मको कथालाई बनावटी अर्कै कथा बनाएर समेत भन्ने गर्थे । भण्डारीले सुनाउनुभयो ।

स्कुलबाट भागेर फिल्म हेरको कलाकार प्रदीप ढकालको अनुभव छ । धेरै रमाइला क्षणहरु छन् । हामी स्कुलबाट भागेर फिल्म हेर्न जान्थ्यौ । झोला लिएर, ड्रेस लगाएरै फिल्म हेर्न जान्थ्यौ । सन् १९८६ को कुरा हो म दिल्लीमा १२ कक्षामा पढ्दै थिए । अक्षय कुमारको फिल्म हलमा लागेको थियो । त्यो फिल्म हेरिरहेको थिए । त्यतिबेला मैले धेरैजसो फस्ट डे फस्ट सो मार्फत फिल्म हेर्थे । बाल्कोनीमा बसेर फिल्म हेरेको थिए । मध्यान्तर भएपछि बत्ति बल्यो । कोक फ्यान्टा लिएर मानिस आए । चिसो मगाए । खान लागेको थिए । मानिसको हल्ला मच्चियो । अक्षय कुमार, अक्षय कुमार, जोनी लिभर भन्दै । मैले हेरे म बसेको सिटको चार सिट तल अक्षय कुमार र जोनी लिभरले समेत बसेर फिल्म हेरेका रहेछन् । त्यो दिनको अनुभव बडो अचम्मको थियो । पहिलोपटक प्रत्यक्ष फिल्मको हिरो र कमेडीयनलाई हेर्न पाएको थिए ।

फिल्म हेरेर घरमा फर्कदा हेरेको फिल्मको क्यारेक्टरमा प्रस्तुत हुने बानी मोडल तथा अभिनेता मिलन शंकरको थियो । म बाल्यकालदेखि नै अलि फिल्मी टाइपको मानिस थिए । फिल्म हेर्दा समेत एकदमै फिल्मभित्र डुब्ने गर्थे । फिल्म हेर्ने मात्र नभएर आफुले आफुलाईनै फिल्म भित्र छु भन्ने अनुभुतीका साथ फिल्म हेर्थे । हलमा मात्र नभएर फिल्म हेरेर घर फर्किदा साथीहरुसँग फिल्मकै जस्तै क्यारेक्टरमानै प्रस्तुत हुने बानी मेरो थियो ।

कोरियोग्राफर रोहन नेपालीलाई फिल्ममा कारुणिक दृश्य देख्दा आँखाबाट आँशु आईहाल्छ । बाल्यकालमा धेरै फिल्महरु हेर्ने गरिन्थ्यो । त्यो मध्य याद भएको ‘दर्पण छाया’ भन्ने फिल्म हो । त्यतीबेला म सानै थिए । फिल्म हेर्न एक्लै हलमा गएको थिए । मलाई दिलिप रायमाझीको डान्स भएको ‘लहनाले जुरायोकी’ हेरेपछि नै यो फिल्म जसरी पनि हेर्छु भन्ने भएर एक्लै गएको थिए । हलमा भिड यति धेरै थियो की म च्याप्पीरहेको थिए । त्यो भिडले मलाई धकेल्दा धकेल्दै भित्र लगिदियो । त्यतिबेला मैले टिकट काटेको पनि थिइन । मध्यान्न १२ बजेको सो हेरेको हुँ । भित्र ढोका लागेको थियो म च्याप्पीरहेको थिए । भिडमा चप्पल फुस्कियो कहाँ गयो थाहा नै थिएन । ढोका खोल्नासाथ त्यो भिडले हुत्याएर मलाई भित्र पुर्‍याइदियो । त्यो कुरा कहिल्यै विर्सिन्न । फिल्म हेर्दा म अलि इमोसनल हुन्छु । कारुणिक दृश्य देख्दा आँशु झरिहाल्छ ।

धेरै पटक टिकट विनानै फिल्म हेरेको अनुभव कलाकार शेखर सुवेदीसँग छ । बाल्यकालदेखि फिल्म हेर्दाका रमाइला अनुभव धेरै छन् । म धेरै पटक विना टिकट हलमा छिरेको छुँ । स्कुल नगई फिल्म हेर्न जाने समेत मेरो बानी थियो । कलेज बंक गरेर समेत धेरै पटक फिल्म हेर्न गइयो । यी कुरा आजसम्म कसैलाई भनेको थिइन, आज यहाँ भने । किनकी यस्ता पल मसँग धेरै थिए । यहीं बानीले होला मलाई कलाकार बन्ने फिल जगायो । र, आज कलाकारिता क्षेत्रमा अगाडि बढ्दैछु ।

पैसा उठाएर गाउँमा डेक लगेर फिल्म हेरेको गुरुङ फिल्मका स्थापित नायक ताराबहादुर गुरुङ भुल्नु भएको छैन । ५, १० रुपैया उठाएर डेक लगेर जेनेरेटर लगाएर गाउँमा फिल्म हेरियो । अलि ठुलो भएपछि स्याङ्जा दरौँ सिरुवारीबाट कहिले साथी सहित कहिले एक्लै फिल्म हेर्न पोखरा आइथ्यो । त्यतिबेला टिकट काट्न निकै गाह्रो हुन्थ्यो । किनकी फिल्म हेर्ने दर्शकको भिड बढी हुन्थ्यो । मानिस धेरै हल कम भएको कारण ठेलमठेल गरेर टिकट काट्नुपर्ने बाध्यता थियो । टिकट पाउँदा के के न पाए जस्तो हुने थियो । पैसा बढी तिरेर ब्ल्याकमा टिकट काटेर समेत धेरै पटक फिल्म हेरियो ।

त्यतिबेला घरमा अहिलेजस्तो हेर्ने सुविधा थिएन । सोही कारण हलमा गएर फिल्म हेर्न निकै उत्साहित हुने थिए । गाउँबाट पोखरा फिल्म हेर्न पोखरा आएर उही दिनमा फर्कन सम्भव हुने थिएन । फिल्म हेर्न पोखरा आउँदा बास बस्नुपथ्यो । पोखरामा आफन्तहरु कमै मात्रामा हुनुहुन्थ्यो । जसोतसो उहाँहरुकोमा बसिन्थ्यो । पैसा जम्मा गर्न समेत सजिलो थिएन, अलि गाह्रै हुन्थ्यो । तर जसोतसो जम्मा गरेर आइन्थ्यो ।

पहिलो पटक फिल्म हेर्दानै ब्ल्याकमा टिकट काट्नु परेको थियो । ठेलमठेल गरेर टिकट काट्न खोजे । टिकट नपाएर फिल्म हेर्न पाइन्नकी भन्ने मनमा आउँदै गर्दा ब्ल्याकमानै भएनी टिकट काटेर फिल्म हेर्न पाउँदा साह्रै खुशी लागेको थियो । फिल्म हेर्न पोखरा आउँदा घुमफिर समेत गरेर गाउँमा फर्किन्थे । सो समयमा सबै मानिस गाउँमानै थिए । अहिले बरु खासै छैनन् । फिल्म हेरेर गाउँमा गएर फिल्मका कहानी भन्दा झनै रमाइलो हुन्थ्यो । नायक गुरुङले भन्नुभयो ।

पहिलोपटक डीभीडी क्यासेटमा फिल्म हेर्दा रोएको कलाकार विश्वास गुरुङको विर्सनुभएको छैन । म ९ वर्षको हुँदा गाउँबाट पोखरा आएको हुँ । गाउँमा बिजुली नआई सकेको हुँदा फिल्म हेर्दा कस्तो अनुभव हुन्छ कहिले महसुश गर्न पाएको थिएन । ठ्याक्कै समय थाहा भएन तर पोखरा आइसके पछि घरको छेउको एकजना दाईले मलाई साह्रै माया गर्नु हुन्थ्यो । एकदिन मलाई त्यो दाइले उहांको आफ्नो घरमा लैजानु भएको थियो । अनि त्यो समयमा डीभीडी क्यासेट लगाएर घरका अन्य सदस्यहरुले ‘कोइला’ भन्ने हिन्दी फिल्म हेर्दै रहेछन्, म पनि के रहेछ भनेर हेर्न बसीहाले । पछि त्यो फिल्ममा एकले अर्कोलाई पिटेको देख्दा साह्रै रोएको थिए । अनि दाईले के भयो भनि मलाई त्यहाँबाट मेरै घरमा ल्याउनु भयो । अहिले त्यो समयलाई सम्झिद म एक्लै हाँस्ने गर्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button