नेपाली फिल्म क्षेत्रमा करोडौँको लगानी फ्रिज

दक्ष जनशक्तिको अभाव हुने खतरा

पोखरा न्यूज । नयाँ भेरिअन्ट सहित लगातार फैलिएको कोरोना महामारीले विश्वको अर्थतन्त्रलाई ठुलो धक्का दिएको छ । यसबाट नेपाल अछुतो रहन सक्ने कुरा भएन । नेपालको अर्थतन्त्रलाई समेत कोरोना महामारीले नराम्ररी थला पारिदिएको छ । धेरैका पेसा व्यवसाय बन्द भएका छन् । जसका कारण केहीले आफूले गर्दै आएको पेसा व्यवसायलाई छोडेर विकल्पको खोजी गर्दैछन् । केही भने अवस्था सामान्य हुने आशामा प्रतीक्षारत छन् । केही व्यवसाय तथा पेसा गर्नेहरू कोरोनाको महामारीसँग जुधेरै भए पनि कर्ममा अगाडि बढ्न खोजिरहेका छन् । आम्दानीको श्रोत गुम्दा भने अधिकांश चिन्तित छन् ।

नेपालमा कोरोना कहरका कारण समस्यामा परेको एउटा क्षेत्र हो फिल्मी क्षेत्र । जुन अब पुरानै अवस्थामा फर्कन्छ भन्नेमा धेरैलाई शङ्का लाग्न थालेको छ । कोरोना कहरको सुरुवात देखिनै पूर्ण रूपमा ठप्प बनेको यो क्षेत्र दोस्रो भेरिअन्ट आउनु अगाडि ५० प्रतिशत अकुपेन्सीमा केही हल सञ्चालन गरेर खुलाउने प्रयास गरिएको थियो । यसरी सञ्चालनमा ल्याउँदा हलमा दर्शकको सहभागिता ज्यादै न्यून देखियो । तर, दर्शकको सहभागिता बढ्ने आशा धेरैको थियो । लगत्तै दोस्रो भेरिअन्टको कोरोनाका कारण फेरी पूर्ण रूपमा हल बन्द भए । अहिले नयाँ–नयाँ भेरिअन्टको आगमनले हल सञ्चालन हुने अवस्था कहिले आउँला यसै भन्न सक्ने अवस्था देखिँदैन । यही समयमा केही हल पूर्ण रूपमा बन्द भैसकेका छन् । केही बन्द हुने अवस्थामा पुगेका छन् । जसका कारण नेपाली फिल्म क्षेत्रलाई दीर्घकालीन असर पर्ने देखिएको छ ।

अहिले निर्माण भएर प्रदर्शनको समय कुरेर बसेका फिल्मको संख्या धेरै छ । करोडौँको लगानी त्यसै फ्रिज भएर बसेको छ । ती फिल्मको प्रदर्शन कहिले हुने हो, लगानी उठ्ने हो की हैन भन्ने अन्यौलता उस्तै देखिन्छ । फिल्मका दर्शकको ध्यान भने अहिले ओटिटि प्लेटफर्म तर्फ मोडिएको छ । यसरी मोडिएको उनीहरूको ध्यान खिच्न नेपाली फिल्मकर्मीले बेलैमा फिल्म प्रदर्शन गर्नको लागि नयाँ प्लेटफर्मको प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ । किनकि हलमा पुगेर फिल्म हेर्ने ट्रेनमा कोरोनाले परिवर्तन ल्याइदिएको देखिन्छ । पछिल्लो समयमा ओटिटि प्लेटफर्म मार्फत प्रदर्शन भइरहेका फिल्म तथा सिरिज प्रतिको आकर्षणले यसलाई पुष्टि गर्दछ ।

जीतेस प्रधान

पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेस प्रधान अब फिल्म प्रदर्शन गर्ने माध्यम हललाई मात्र बनाउन नहुने बताउनुहुन्छ । अब नेपालमा ओटिटि फरम्याटको विकास गरेर सोही अनुसारका फिल्म निर्माण गर्नुपर्ने उहाँको बुझाई छ । फिल्म निर्माताले बेलैमा यसतर्फ ध्यान नदिने हो भने नेपाली फिल्म उद्योगको व्यवसाय अन्योल बन्ने उहाँले बताउनुभयो ।
कोरोनाले नेपाली फिल्म उद्योगमा ठुलो नै धक्का दिएको छ । सर्ट टर्म इफेक्ट भनेको सुटिङ हुन नसक्नु हो । जसले गर्दा त्यसमा निर्भर भएका धेरै टेक्निकल फिल्ड तथा कलाकारहरूलाई दैनिक आम्दानीमा असर पुगेको छ । जसको असर नर्मल लाइफ मानै परिरहेको छ । त्यसको लङ टर्म इफेक्ट अब देखिन सुरु हुँदैछ । हलहरू बन्द हुँदैछन् । बिस्तारै सपिङ मलमा परिवर्तन हुँदै छ । व्यावसायिक तथा अनुभवी क्रिउहरु सबै अर्को पेसामा जादैछन् । यसले व्यवसायमा दक्ष जनशक्तिको कमी हुनेछ । प्रोडक्सन हाउसहरू पनि धेरै बन्द हुने अवस्थामा छ । विश्वको सिनेमाको बजारलाई हेर्ने हो धेरै प्रोडक्सन हाउसहरू हल बेस फिल्म भन्दा पनि ओटिटि फरम्याटको लागि फिल्म, वेभ सिरिजहरू बनाउन सुरु गरिसके तर हाम्रो नेपालमा भने राम्रो ओटिटिको विकास नभएर अझै पनि हलको भर गरेर बस्नु परेको छ । र, फिल्म मेकरहरुले नि यसको लागि पहल गर्न सकेका छैनन् । नेपाली फिल्म मेकरले बेलैमा नसोचे नेपाली फिल्म उद्योगको व्यवसाय अन्योल छ । अध्यक्ष प्रधानले भन्नुभयो ।

नेत्र गुरुङ

फिल्म निर्देशक नेत्र गुरुङ कोरोना महाकारीका कारण नेपाली फिल्म क्षेत्र अन्योलमा परेको बताउनुहुन्छ । लामो समयसम्म यस्तो अवस्था रहँदा धेरैले पेसा परिवर्तन गरेको कारण यसले दीर्घकालीन रूपमा फिल्म क्षेत्रमा असर पार्न सक्ने उहाँको चिन्ता छ । फिल्म क्षेत्रमा अहिले एकदम असर परेको छ । सिनेमा हल बन्द छन् । बनिसकेको सिनेमा थन्किएर बसेका छन् । माहौल जगाउन हलसम्म जाने बाटो बन्न समय सहज हुन जरुरी छ । तुरुन्तै सम्भव होला जस्तो देखिँदैन । फिल्म प्रदर्शन रोकिदा निर्माताहरू पिडामा छन् । धेरै लगानी फ्रिज भएर बसेको छ । यो क्षेत्रमा लागेका कतिले पेसा परिवर्तन गरे । कति साइड जब तिर लागेको अवस्था छ । दक्ष टेक्निसियन, फिल्म मेकर, कलाकारहरू अरू काम तिर लाग्दा सिनेमा मेकिङमा अप्ठ्यारो हुने निश्चित छ । कोरोना कहरले धेरै मारमा परेको क्षेत्र नै सिनेमा क्षेत्र भए पनि सरकारको खासै सहयोग र साथ नहुँदा यो क्षेत्रको भविष्य अन्योलमा नै रहेको अवस्था छ । निर्देशक गुरुङले सुनाउनुभयो ।

महेश त्रिपाठी

अभिनेता महेश त्रिपाठी फिल्म क्षेत्रलाई पुरानै ट्र्याकमा ल्याउनका लागि वातावरण सिर्जना गर्न फिल्मकर्मीले अलिकति कसरत गर्नुपर्ने बताउनुहुन्छ । सम्भावनाका नयाँ ढोकाको पहिचान गरेर फिल्मकर्मीले अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएकोमा उहाँको जोड छ । पहिला सामान्य तरिकाले लिइएको थियो । समग्र रूपमा सम्पूर्ण क्षेत्रमा नै यसले असर गरिराखेको छ भन्ने तरिकाले नै लिइएको थियो । तर समय बित्दै जाँदा बिस्तारै अरू क्षेत्रहरूमा सामान्य गति लिएर अगाडि बढ्न थालेको देखिए पनि सिनेमा क्षेत्र भने कोरोना कहरको सुरुवाती अवस्थामा जसरी बन्द भयो त्यसरी नै रहिरहेको र लामो समयसम्म त्यो कुराहरू यथावत् भएको हुनाले यसमा आश्रित विभिन्न व्यक्तिहरू, टेक्निसियन कलाकार, हल व्यवसायीहरूमा बिस्तारै प्रभाव देखिन थालेका छ ।

यो कहिले रोकिने हो कहिलेबाट फेरी हामी सामान्य अवस्थामा फर्किने हो भन्ने कुराको  अन्योल जस्तो देखिएको छ । एक हिसाबले भ्याक्सिनेसनको कुराहरू ‘पर्पर’ रूपले हुन सक्यो भने फेरी गतिशील हुन सक्ने सम्भावना हुन्छ कि भन्ने मेरो आस हो । जुन क्षति भएको छ यो बिचमा यो क्षतिले सिनेमालाई अलिकति समय असर नै गर्छ होला । पुरानै ट्र्याकमा ल्याउनका लागि अलिकति कसरत गर्नुपर्ने वातावरण सिर्जना गरेको छ जस्तो गर्छ ।अर्को कुरा यसले असर मात्र ग¥यो भनेर सोच्नुभन्दा यसले अहिलेसम्मका ढोकाहरूलाई बन्द गरिरहेको परिवेशमा अब आउने नयाँ सम्भावनाका ढोकाहरू खेल्नतर्फ सिनेमाकर्मीहरू लाग्नु पर्छ कि त्यसो गर्दा हामीले सिनेमा क्षेत्रलाई एउटा गति दिन सक्छौ की भन्ने मलाई लागेको छ ।
सिनेमा क्षेत्रमा आश्रित व्यक्तिहरूले आफ्नो प्रोफेसनलाई चेन्ज गर्ने, कोही विदेश पलायन हुने क्रम अहिले सुरु भएको छ । जब सिनेमा क्षेत्र सामान्य अवस्थामा फर्कनेछ त्यति बेला प्राविधिक पक्षबाट वा अन्य पक्षबाट त्यस्ता जनशक्तिको अभाव महशुस हुन्छ नै । अभिनेता त्रिपाठीले भन्नुभयो ।

माओत्से गुरुङ

कलाकार तथा निर्देशक माओत्से गुरुङ अब दर्शकले हलको विकल्प खोज्न थालेकोले फिल्मकर्मीले समेत हलको विकल्प खोजेर फिल्म प्रदर्शन गर्नतर्फ अग्रसर हुनुपर्ने सुनाउनुहुन्छ । कोरोना कहरको दीर्घकालीन असर सिनेमा क्षेत्रमा परेको छ ।  फिल्म निर्माण र प्रदर्शनमा यसको ठाडो असर पर्छ । जुन रूपमा निर्माताहरुले हिजो खुलेर खर्च गर्न तयार हुन्थे । अब अलिकति खर्चमा मिनिमाइज हुन्छ होला । मुख्य असर फिल्म प्रदर्शनलाई लिएर हुन्छ । अहिले जुन हलहरू छन् ती हलहरू बन्द हुने अवस्थामा पुगेका छन् । कति बन्द भइसके ।  अब फिल्म प्रदर्शनको तरिका नै परिवर्तन हुने अवस्था भएको छ । हिजो हलमा फिल्म हेर्ने एउटा परिपाटी थियो । अब त्यो परिपाटीलाई विकल्पको रूपमा प्रयोग गर्न सकिने अवस्थाको सिर्जना अब हुन्छ होला । दर्शकलाई हलमा गएर सिनेमा हेर्नुपर्छ भन्ने खालको अवस्थाहरू सिर्जना अब नहुन सक्छ । किनकि अब हात हातमा मोबाइल छ । मोबाइलमा नै फिल्म, सिरिज हेर्न पाइन्छ । यस्तो अवस्थाका कारण दर्शकलाई फिल्म हेर्न हलमा जानुपर्ने बाध्यता नहुन सक्छ । गुरुङ फिल्म एसोसिएसन नेपालका संस्थापक अध्यक्ष समेत रहनुभएका कलाकार गुरुङले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button