अफगानिस्तानका विषयलाई लिएर ट्रम्पद्वारा बाइडेनको राजीनामा माग

पाेखरा न्यूज । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा माग्नुभएको छ ।

अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उहाँले बाइडेनको राजीनामा माग्नुभएको हो ।

अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ ।

आइतबार जारी गरेको वक्तव्यमा ट्रम्पले लेख्नुभएको छ, “अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडेनले राजीनामा दिनुपर्ने बेला आएको छ ।”

अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडेन प्रशासन नै भएको ट्रम्पको आरोप छ । आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उहाँले व्यक्त गर्नुभएको छ ।

अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडेको र तालिबान लडाकूहरुले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गर्नुभएको हो ।

तालिवान विद्रोहीहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उहाँले देश छाड्नुभएको हो । देश छाडेपछि उहाँले थप रक्तपात हुन नदिन र अरु लाखौँको मृत्यु हुने घटनाबाट जोगाउनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छोडेको स्पष्ट पार्नुभएको छ ।

स्रोतका अनुसार अव तालिबान लडाकूहरुकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नुहुनेछ । तालिवान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू नियन्त्रणमा लिएका छन् । उनीहरुले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button