मोना कतारले म्याग्दीमा मावि स्तरीय वक्तृत्वकला आयोजना गर्दै

तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ l कोरोनाका कारण अनलाइन माध्यमबाट प्रतियोगिता आयोजना गर्न लागिएको मोना कतारले जनाएको छ l

सामाजिक संस्था भए पनि स्थापना कालदेखि नै जिल्ला तथा प्रवास कतारमा समेत हरेक गतिविधिमा अग्रणी भूमिकामा रहने गरेको सङ्घद्वारा जारी सूचनामा प्रतियाेगिता बारे जनाइएको छ l कतारमा समेत विविध गतिविधि सञ्चालन गर्दै गर्दै आएको सङ्घले पछिल्लो केही समयदेखि कोरोना महामारीले उत्पन्न गरेको विषम परिस्थितिका वावजुद समाजका हरेक तह र तप्कासम्म पुग्न प्रतियोगिताले मद्दत गर्ने विश्वास लिएको सङ्घका अध्यक्ष नरेन्द्र फगामीले पोखरा न्यूजलाई जानकारी दिनु भयो l फगामीका अनुसार सङ्घले संस्थाका सल्लाहकार थम कुमार गिरीको संयोजकत्वमा ९ सदस्यीय वक्तृत्वकला प्रतियोगिता आयोजक समिति गठन गरेको छ l

वर्तमान कार्यसमितिले फरक अवधारणाका साथ अगाडी बढ्न खोजेको हुँदा संस्थाको रोजाइमा भविष्यका कर्णधार समेत मानिने (विद्यार्थी ) हरू परेको र उनीहरूमा लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आगामी ५ भदौ २०७८ देखि चार चरणमा सम्पन्न हुने गरी म्याग्दी जिल्ला भरिका माध्यमिक विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता अनलाइनका माध्यमबाट आयोजना गर्न लागेको र तयारी अन्तिम चरणमा पुगेको संयोजक गिरीले जानकारी दिनु भयो l

गिरीले आयोजकले प्रतियोगिताका लागि गुगल फर्म र इमेल जारी गरिसकेको बताउँदै प्रतियोगिता सम्बन्धी नियम तथा कार्यतालिका, गुगल फर्म र इमेल म्याग्दी जिल्लाभरका गाउँपालिका, नगरपालिका तथा विद्यालयहरूलाई इमेलद्वारा नै पठाई सकिएको बताउनु भयो l उहाँले गाउँपालिका तथा नगरपालिकालाई आफ्नो पालिका भित्रका सम्पूर्ण विद्यालयमा सूचना सम्प्रेषण गरी सहभागी पठाउन समन्वय गरिदिन अनुरोध समेत गर्नु भएको छ l

आयोजक समितिले प्रतियोगिताको लागि निर्णायक मण्डल समेत गठन गरेको छ l निर्णायकहरूमा घनश्याम खड्का, रेखा कौसल रेग्मी, हरि प्रसाद सुबेदी, थम कुमार गिरि र विक्रम कार्की रहनु भएको छ l कार्की र गिरी कतारमा कार्यरत हुनुहुन्छ भने बाँकी सबै जिल्लाका प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ l प्रतियोगिता ३ चरणसम्म भर्चुअल र फिनाले म्याग्दी सदरमुकाम बेनीमा प्रत्यक्ष गर्ने कार्य तालिका रहेको छ l

पहिलो चरणमा “कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपाय” का बारेमा ५ मिनेट नबढाइ असम्पादित र मोबाइलबाट तेर्सो (ल्याण्डस्केप) गरी खिचिएको भिडियो भदौ १४ गते साँझ ५ बजेभित्र आयोजकले उपलब्ध गराएको गुगल फर्म या इमेलमा पठाउन सहभागीलाई अनुरोध गरेको छ l

भिडियो रेकर्ड गर्दा क्यामेरा बाहेक दायाँबायाँ तल माथि कहीँ हेरेमा वा कहीँ पढेको या साभार गरिएको जस्तो देखिएमा निणायकले नम्बर काट्न सक्ने आयोजक मोना कतारले जनाएको छ l

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button