कतारबाट राज रेग्मीद्वारा एनआरएनए आइसिसी युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा

तिलु शर्मा पौडेल, दोहा कतार । गैर आवासीय नेपाली सङ्घ (एनआरएन)को आगामी १० औँ महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा आ-आफ्नो उम्मेदवारी घोषणा गर्ने लहर विश्वभर चलिरहेको छ l यसै लहरमा कतारबाट मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसिसीको युवा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ l

कतारका नेपाली माझ समाजसेवी तथा सरल व्यक्तित्वको छवि बनाउनु भएका रेग्मी नेपाली व्यवसायी सङ्घ कतारका उपाध्यक्ष समेत हुनुहुन्छ l पोखरा न्यूजसँग कुरा गर्दै रेग्मीले सङ्घको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

एनआरएनए कतार तथा विभिन्न सङ्घसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइ सकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउन आफूले उम्मेदवारी दिएको बताउनु भयो l

रेग्मीले विदेशमा सिकेको र आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने जनाउँदै विदेशमा विभिन्न पेसा तथा क्षेत्रमा रहेका युवाहरूलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरै युवाहरुलाई एनआरएनएको महत्त्व र आवश्यकताको अनुभूति दिलाउँदै युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने पोखरा न्यूजलाई बताउनुभयो । उहाँले वैदेशिक रोजगार तथा अध्ययनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरूको समस्या तथा अप्ठ्यारोमा परेकाहरूका लागि छुट्टै राहत कोष स्थापना गरी सहयोग गर्ने बताउनुभयो ।

मध्यपूर्व युवा संयोजक पदमा रहँदा पाएको माया, साथ, सुभेच्क्षा र समर्थन आफूले उपाध्यक्ष पदका लागि पनि प्राप्त गर्ने अपेक्षा सहित सहयोगका लागि अपिल गर्नु भएको छ l विश्वभर रहेका दोस्रो पुस्ताका युवालाई लक्षित गरेर ग्लोबल एनआरएन सिंगिङ आइडलको आयोजना गरिरहेका रेग्मीले दोस्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक गरिरहेकोमा उहाँको चर्चा विश्वभर छ । मध्यपूर्व युवा विभागबाट नै आयोजना गरिएको कार्यक्रममा विश्वभरका दोस्रो पुस्ताको सहभागिता रहेको छ ।

रेग्मीले आफूलाई जिताउन आव्हान गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ l प्रतिबद्धता निम्नअनुसार रहेका छन् l

१. नेपालको संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न उत्पादनमूलक क्षेत्रमा समुहिक लगानी ।

२. युवा स्वरोजगारहरूको क्षमता अभिवृद्धि र उपलब्धिमूलक नव–प्रवर्द्धनका क्षेत्रमा युवाहरूको सामूहिक लगानी ।

३. विदेशमा सिकेको सिप र ज्ञानको उचित सदुपयोगमार्फत स्वदेशमै युवा रोजगार सिर्जना ।

४. विभिन्न पेसा र क्षेत्रका युवाहरूलाई प्रोत्साहन गर्दै उद्यमतर्फ आकर्षित गर्ने योजना ।

५ . सुरक्षित र मर्यादित रोजगारीको वातावरण , रोजगारीमा आउनेहरूको लागि श्रम सहजीकरण लगायत तालिम, अभिमुखीकरण र लगानीमा सहुलियत र अनुदान ।

६. मध्यपूर्व एसिया लगायत अन्य देशमा रोजगार र अध्ययनमा रहने युवा हरूको लागि छुट्टै राहत कोष स्थापना ।

७. सबैको अपनत्व हुने गरी सबै वर्ग र क्षेत्रका सबै नेपालीहरू समेटिने , विधान र पद्धतिमा चल्ने, निस्स्वार्थ र गैर नाफामूलक र गैर राजनीतिमूलक संस्थाका रूपमा एनआरएनएलाई अगाडि बढाउने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button