एनआरएन कतारका संस्थापक हमालको एनआरएन मध्यपूर्व सह-संयोजकमा उम्मेदवारी

तिलु शर्मा पौडेल, दोहा कतार । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को २०२१-२३ कार्यकालका लागि मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा कृष्णबहादुर (केबी) हमालले उम्मेदवारी घोषणा गर्नु भएको छ । हाल एनआरएन आइसिसी सदस्य रहनु भएका हमाल मध्यपूर्वको एनआरएन अभियानका अगुवा अभियन्ता मध्यका एक हुनुहुन्छ ।

नेपालीहरूको रोजगार गन्तव्य समेत रहेको मध्यपूर्वको एनआरएन निर्वाचनको विशेष महत्त्व हुने गरेको छ । एनआरएनको दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आउन लाग्दा हमालले मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरी निर्वाचन अभियानसमेत सुरु गरी सक्नु भएको छ । एनआरएन कतारको संस्थापक सदस्यसमेत रहनु भएका हमालले एनआरएनका विभिन्न जिम्मेवारी सम्हाली सक्नु भएको छ ।

हमालले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको अल्पकालीन र दीर्घकालीन समस्या सम्बोधन गर्नका लागि मध्यपूर्वको नेतृत्वमा जान चाहेको पोखरा न्यूजलाई बताउनुभयो । हमालले सुरक्षित मर्यादित र सम्मानित वैदेशिक रोजगारका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने एजेन्डा अघि सार्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ l

उहाँका प्रतिबद्धताहरू

(क) वैदेशिक रोजगारीमा कल्याणकारी कोषको वृद्धि साथै प्रभावकारी कार्यान्वयनका लागि दबाब र नीतिगत सुझावहरू प्रस्तुत गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ।

(ख) वैदेशिक रोजगारीमा जानेहरूका लागि जीवन बिमा र सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र प्रभावकारी बनाउन आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने ।

(ग) श्रम स्वीकृति, अध्यागमन, भाषा प्रमाणीकरण र म्यानपावरहरूमा देखिएको अनियमितता र झन्झटिलो प्रक्रियाहरूमा परिणाममुखी र नीतिगत समन्वयकारी भूमिका खेल्ने ।

घ) मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्सँग समन्वयकारी भूमिका खेल्ने, सम्बन्धित देशको नियम कानुन भित्र रही श्रमिकहरूका समस्याहरू समाधानका लागि विशेष भूमिका निर्वाह गर्ने ।

(ङ) मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद् सँग समन्वय गरी नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि भूमिका निर्वाहका साथै सम्भावना भएको देशमा नेपाली विद्यालय स्थापना गर्न सम्बन्धित देशमा रहेका नियोगसँग परामर्शको पहल गर्ने ।

हमालले मध्यपूर्वमा नेपालीहरूको उद्यमशीलता र व्यवसायीकरणको लागि पनि आफ्नो व्यवस्थापकीय अनुभव र क्षमताका आधारमा सहजीकरण गर्न केही एजेन्डा अघि सार्नु भएको छ । ती यस्ता छन्ः

(क) समग्र डायस्पोरा र मध्यपूर्वमा कार्यरत नेपालीहरूलाई केन्द्र विन्दुमा राखी व्यवसाय तथा उद्यमशीलताका लागि उत्प्रेरित गर्ने र सहजीकरणको पहल गर्ने ।

(ख) गैर आवासीय नेपाली सङ्घसँग समन्वय गरी विदेशमा स्वरोजगारीलाई मध्यनजर गर्दै व्यवसायीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने ।

(ग) स्वदेश भित्र लगानीका लागि नेपाल सरकारका कानुनी प्रावधानसँगै प्राप्त अवसर र लगानी गर्न सुरक्षित क्षेत्रहरूका बारेमा जानकारीमूलक कार्यक्रमहरूको संयोजन गर्ने ।

(घ) निष्क्रिय रहेका मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्हरूलाई सक्रिय बनाउने र उत्प्रेरणा जगाउन विशेष पहलकदमी गर्ने ।

हमालले आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्धनका लागि एनआरएनमार्फत गर्न सकिने एजेन्डा समेत अघि सार्नु भएको छ ।

कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्धन

(क) नेपाल र नेपालीको पहिचान विश्वमा चिनाउन कला र संस्कृतिलाई प्रवर्द्धन र संवर्द्धन गर्न विविध कार्यक्रमको आयोजना गरी समयानुकूल समन्वयकारी भूमिका निर्वाह गर्ने ।

(ख) नेपालको आर्थिक विकासका लागि मध्यपूर्वका राजदूतावास, आइसिसी र एनसीसीसँग समन्वय गरी पर्यटन क्षेत्रको विकासका लागि कर्म क्षेत्रका पर्यटकहरूलाई नेपाल भ्रमणमा जान उत्प्रेरित गर्ने र सोही सम्बन्धमा विशेष कार्यक्रमको आयोजना गरी अन्तरक्रिया गर्ने ।

(ग) नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरूलाई मध्यपूर्वको बजारमा भित्र्याउन सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने । (घ) विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न हौसला प्रदानका खातिर राजदूतावास, आइसिसी र एनसीसीसँग समन्वय गरी प्रोत्साहनमूलक कार्यक्रमहरूको आयोजना गर्ने ।

(ङ) नेपाली भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी देश विकाशको निम्ति एनआरएनएको अन्तर भावलाई नियोग र नेपाल सरकारसँग नेपाली सांस्कृतिक केन्द्र सञ्चालन गर्न गराउन पहल गर्ने । उनले आफ्नो चुनावी एजेन्डामा मध्यपूर्वका सम्भावना भएका देशमा नेपाली विद्यालय खोल्न सम्बन्धित देशका नियोगहरूमार्फत स्वीकृतिका लागि पहल गर्ने बताउनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button