पर्वत समाज कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण

  • तिलु शर्मा पौडेल, दोहा कतार । मिर्गौला रोगबाट मृत्यु हुनुभएकी अमृता कुमारी शर्मा र क्यान्सर रोगको उपचाररत शान्ति खत्रीको परिवारलाई पर्वत समाज कतारले आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रम गरी दुवै मिर्गौला खराब भएर मृत्यु हुनुभएकी पर्वतकाे कुस्मा नगरपालिका-३ दुर्लुङ्ग घोगेनी निवासी स्व.शर्माको घरमै पुगेर १३ औँ दिनको पुण्य तिथिमा उहाँका श्रीमान् टीका पाध्यालाई वडा अध्यक्ष तेज प्रसाद पाध्यको बिशेष उपस्थितिमा नगद बत्तीस हजार आठ सय बयासी रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सहयोग ग्रहण गर्दै स्व. शर्माका श्रीमान् टीका पाध्यले लामो समयसम्म मिर्गौला रोगको उपचार गर्दा लाखौँ रकम खर्चेको भन्दै संस्थाले दुःख पर्दा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष पाध्यले विदेशको ठाउँमा गएर पनि आफ्नो गाउँ/ठाउँमा समस्या पर्दा सहयोग गर्ने संस्थाको काम अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

यसैबिच सोही कार्यक्रममा क्यान्सर रोगको उपचार गराई रहनु भएका पर्वत समाज कतारका पूर्व अनुशासन विभाग प्रमुख आई बहादुर खत्रीकाे श्रीमतीलाई पनि सहयोग रकम हस्तान्तरण गरिएको छ । लामो समय वैदेशिक रोजगारीको क्रममा संस्था सङ्ग आबद्ध रही हाल नेपाल फर्कनु भएका खत्रीको परिवारलाई नगद बत्तीस हजार आठ सय बयासी रुपैयाँ हस्तान्तरण गरिएको हो ।

भिमकान्त शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाज कतारका कोषाध्यक्ष महेन्द्र कुमार चालिसेको अध्यक्षता रहेको थियो l समाजका संस्थापक प्रताप गिरी, पूर्व उपाध्यक्ष धन सुनार खाती, पूर्व आर्थिक संयोजक लेखनाथ रिमाल, कार्यसमिति सदस्य चित्र बहादुर क्षत्री र रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button