आन्तरिक आम्दानी बढाउँदै बागलुङ नगरपालिका

पोखरा न्यूज। स्थानीय तहले आन्तरिक आम्दानीमार्फत नै सरकार सञ्चालन गर्नु सङ्घीयताको मर्म भए पनि नेपालका सबै स्थानीय तह आन्तरिक आय बढाउनभन्दा सङ्घ र प्रदेशको बजेटमा निर्भर छन् ।

खासगरी स्थानीय स्रोत र साधनको पहिचान र अधिकतम प्रयोग गरी स्थानीय तहलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा कतिपय स्थानीय तहले करको दायरा फराकिलो नबनाई करको दर मात्रै बढाएको भन्दै विरोधसमेत हुने गरेको छ ।

बागलुङ नगरपालिकाले करको दायरा फराकिलो बनाउँदै आन्तरिक आम्दानी बढाएको छ। आर्थिक वर्ष २०७७-७८ सालमा झन्डै दुई करोडभन्दा बढी कर सङ्कलन गरी रु पाँच करोड ५२ लाख २४ हजार ६ सय १० सङ्कलन भएको बागलुङ नगरपालिकाका राजश्व शाखाप्रमुख काशिराम शर्माले बताउनुभयो  ।

बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०७५-७६ सालमा नगरपालिकाको आन्तरिक आम्दानी रु तीन करोड ३१ लाख ८६ हजार दुई सय २७ सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०७६-७७ सालमा आन्तरिक आम्दानीमा केही बढाएर रु तीन करोड ८१ लाख ३९ हजार ६३ सङ्कलन भएको थियो ।

शर्माका अनुसार घर बहाल कर १२ प्रतिशत कायम गरेको नगरपालिकाले ६ प्रतिशतमा झारे पनि घरबहालको अनुगमनपश्चात् गत आर्थिक वर्षमा रु एक करोड ३३ लाख नौ सय ५१ रकम सङ्कलन भएको छ। कवाडी करबापत रु १४ लाख ११ हजार नौ सय ८० रकम सङ्कलन भएको छ ।

नगरपालिकाले नदीजन्य पदार्थ बिक्री वितरणमा समेत कडाइ गर्न थालेको र यसबाट आम्दानीमा उल्लेख्य सुधार भएको राजस्व शाखाप्रमुख शर्माले बताउनुभयो। नगरपालिकाले नदीजन्य पदार्थ बिक्रीबाट रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ। यसअघि सम्झौता गरेको क्रसर व्यवसायीले नदी दोहन गर्ने तर सम्झौता अनुसारको रकम नतिर्ने गरेकामा अहिले सम्झौता गर्दा साथ राजस्व सङ्कलन गर्ने नीति ल्याएको छ ।

नगरपालिकाले लुकेर रहेका करका स्रोत पहिचान, राजस्व छलीमा कडाइ र प्राकृतिक स्रोत बिक्रीमा कडाइ गर्दा आन्तरिक आम्दानी बढेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । गत तीन वर्ष पहिलाको आन्तरिक आम्दानीको तुलनामा आर्थिक वर्ष २०७७-७८ मा झन्डै रु दुई करोड २० लाखभन्दा बढी आम्दानी गर्न सफल भएको नगरप्रमुख पौडेलले बताउनुभयो  ।

“हामीले कर बढाएका छैनौँ, केही व्यावसायिक कर घटाएका छौँ, करको दायरा बढाएका छौँ, गुमेका कर उठाउँदै लगेका छौँ भने घरबहाल र ढुङ्गा, गिट्टी, बालुवा बिक्री करलाई व्यवस्थित बनाएका हौँ,” नगरप्रमुख पौडेलले भन्नुभयो, “गत आर्थिक वर्षमा मात्रै रु पाँच करोड ५२ लाख २४ हजार ६ सय १० आम्दानी गर्नु ठूलो उपलब्धि मानेका छौँ ।”

नगरप्रमुख पौडेलका अनुसार वार्षिक रु दुई करोडका दरले आन्तरिक आम्दानी वृद्धि गर्दै जाने लक्ष्य रहेको र सोही अनुसार करको दायरा फराकिलो बनाइएको छ। नगरपालिकाले यसअघि सम्पत्ति, व्यवसाय, नाता प्रमाणित लगायतका प्रशासनिक कर मात्रै लिँदै आएकामा पछिल्लो समय विज्ञापन, कवाडी, नदीजन्य पदार्थ बिक्रीलगायतका नयाँ करको क्षेत्रमा वृद्धिपश्चात् आन्तरिक आम्दानीमा वृद्धि भएको हो। आन्तरिक आम्दानीलाई अझ बढाउन कर शिक्षा प्रदान गर्ने घर बहाल करको विषयमा अनुगमन गर्ने नगरको अबको योजना छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button