‘चीनले सीमा मिचेको छैन, अनावश्यक राजनीति गरियो’ अध्यक्ष लामा

पाेखरा न्यूज । हुम्लाको नाम्खामा चिनियाँ पक्षले सीमा मिचेको भनिएको विषयमा अध्ययन गर्न गृह मन्त्रालयको टोली सिमिकोट पुगेको छ । तर यहीबेला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौंमा हुनुुहुन्छ । उहाँले चीनले सीमा मिचेको विषयलाई अस्वीकार गर्नु भएकाे छ ।

सीमा विवादका बारेमा परराष्ट्र मन्त्रालयले यसअघि नै प्रस्ट पारिसकेको बताउँदै लामाले सरकार परिवर्तनपिच्छे सीमा विवाद ल्याएर कूटनीतिमा असर पारेको भन्दै असन्तुष्टि जनाउनु भएकाे छ । ‘मेरा गाउँपालिका भएकाले विवाद उठेपछि म आफैं उपस्थित भएर स्थलगत अध्ययन गरेको थिएँ, त्यहाँ कुनै सीमा मिचिएको कतै पनि देखिएन,’ लामाले भन्नु भयाे, ‘तत्कालीन प्रजिअ र मसहित गएर अध्ययन गरेर सीमा नमिचिएको प्रतिवेदन सरकारलाई दिएका थियौं, त्यही प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले यसअघि नै धारणा बनाई सीमा नमिचिएको प्रस्ट पारिसकेको छ, अहिले फेरि विवाद निकालेको देख्दा अचम्म लागेको छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वमा हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । आचार्य नेतृत्वको टोली शनिबार सिमिकोट पुगेको छ । टोलीमा गाउँपालिका अध्यक्ष लामा समावेश हुनुहुन्न ।

‘मेरै गाउँपालिकामा सीमा मिचिएको भन्दै अहिले गृह मन्त्रालयका सहसचिवको नेतृत्वकोे टोली सिमिकोट पुगेको छ, मलाई सहजीकरण गर्न अनुरोध गरियो, तर मिच्दै नमिचेको सीमामा अध्ययन गर्न किन जाने भनेर म गइनँ,’ उहाँले भन्नु भयाे, ‘सीमाजस्तो कुरा पनि सरकार फेरिएपिच्छे फरक–फरक हुन्छ र ? यस्तो गम्भीर विषयमा खेलाँची गरिरहन मिल्छ र ? ’

यसअघि नै सरकारले प्रस्ट पारिसकेका उल्लेख गर्दै अध्यक्ष लामाले सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउनु भएकाे छ ।

उहाँका अनुसार सन् १९६२ मा नेपाल र चिनियाँ दुवै पक्षबीच भएको सहमतिअनुसारको भूमि नेपालतिर नै रहेको र चीनले आफ्नै भूमिमा संरचना निर्माण गरेको छ । ‘सन् १९६२ मा सीमाका बारेमा जुन सम्झौता भएको थियो, त्यो नक्सासँग दाँजेर अहिले हेर्दा पनि चीनले भूमि मिचेको अलिकति पनि देखिँदैन,’ लामाले भन्नु भयाे, ‘तत्कालीन प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र मसहित गएको टोलीले अध्ययन गर्दा नमिचिएको देखेपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएका हौं ।’

उहाँका अनुसार नेपालका प्रजिअ र चिनियाँ पक्षबीच प्रत्येक वर्ष सीमा र सीमा सुरक्षाका बारेमा छलफल हुने गरे पनि कोभिड–१९ महामारीका कारण त्यो छलफल दुई वर्षदेखि रोकिएको छ ।

नाम्चा गाउँपालिका वडा नम्बर ५ र ६ का १२ नम्बर पिल्लर र त्योभन्दा २७ किमी पर रहेको ११ नम्बर पिल्लरका बारेमा विवाद देखिए पनि स्थलगत अध्ययनमा त्यस्तो नभएको उहाँको दाबी कायमै छ । ‘पानी ढलोलाई सीमा मानिएको छ, १९६२ को नक्सा र अहिलेको स्थान हेर्दा पनि कुनै फरक छैन, चीनले आफ्नै भूमिमा संरचना बनाएको छ,’ उहाँले अगाडि भन्नु भयाे, ‘सरसर्ती हेर्दा र नक्सासँग जुधाउँदा कुनै विवाद गर्नुपर्ने देख्दिनँ । तर सरकारको काम हो, गरेर केही प्रतिवेदन त देला ।’

लामासँग गरिएको कुराकानीः

तपाईको गाउँपालिकामा चिनियाँ पक्षले सीमा मिचेको भन्दै टोली सिमिकोट पुगेको छ, तपाईसँग कुराकानी भयो ?
– गृह मन्त्रालयले बनाएको टोली सिमिकोट पुगेको छ, मलाई सहजीकरण गर्न सम्पर्क गरेका थिएँ । तर पहिला नै टुंग्याएको विषय भएकाले तपार्इहरू जानुहोस्, म आउन भ्याइनँ भनिदिएको छु ।

तपाई किन नजानु भएको हो ?
– म काठमाडौंमा छु, यता मेरो काम पनि छ ।

तपाईको गाउँपालिकामा सीमा मिचिएको छ, तपाई काठमाडौंमा नै बस्नु भएको छ, ध्यान दिनुपर्ला नि ?
– सीमा विवादका बारेमा पहिला नै कुरा उठेपछि तत्कालीन प्रजिअ चिरञ्जीवी गिरीको नेतृत्वमा स्थलगत अध्ययन भएको थियो, म पनि गएको थिएँ । तर सरसर्ती हेर्दा र सन् १९६२ मा भएको सम्झौताअनुसार नक्सा जाँच गर्दा सीमा मिचिएको देखिएन । सीमा मिचिएको प्रमाण नपुगेपछि त्यो प्रतिवेदन संघ सरकारलाई पठाइएको थियो, लगत्तै सरकारले हुम्लामा चीनसँग सीमा विवाद नभएको प्रस्ट पारेको थियो ।

भनेपछि तपाई ढुक्क हुनुहुन्छ कि सीमा मिचिएको छैन ?
– स्थलगत अध्ययन गरेर सरसर्ती हेर्दा र पुरानो नक्सामा टेकेर अध्ययन गर्दा सीमा मिचिएको देखिँदैन, म गाउँपालिकाको अध्यक्ष, म मिचिएको प्रमाण कतै पनि देख्दिनँ । अब सीमाजस्तो कुरामा सरकारपिच्छे फरक धारणा बनाउने काम भयो, यो चाहिँ लाजमर्दो नै छ ।

त्यसो भए अहिले अध्ययन समिति बनाएकोमा सन्तुष्ट हुनुहुन्न ?
– सन्तुष्टि र असन्तुष्टिको कुरा होइन, सीमाजस्तो विषयमा एउटा सरकारको एउटा धारणा र अर्को सरकारको अर्को धारणा हुन्छ र ? सरकार फेरिएपिच्छे सीमा फेरिँदै जाने हो र ? यो त पूरै कच्चा काम भयो ।

खास विवाद के विषयमा हो ?
– म सीमा विवाद छ भन्ने नै मान्दिनँ, यो त जबर्जस्ती ल्याएको विषय हो । यसमा राजनीति गर्न खोजियो ।

खास के हो त ?
– म त्यहाँको गाउँपालिकाको अध्यक्ष, अनि मेरै वडाका ५ र ६ को सीमा मिचिएको भनिएको छ, म मिचिएको देख्दिनँ, यता मिचिएको भनिरहन्छन्, अब के गर्ने ?

विवाद पहिलेदेखि नै थियो कि ?
– प्रत्येक वर्ष हुम्लाका प्रजिअ र चिनियाँ पक्षबीच सीमा र सीमा सुरक्षाका बारेमा द्विपक्षीय बैठक हुन्थे, अहिले कोभिडका कारण दुई वर्षदेखि हुन सकेको छैन ।

सरकारी अध्ययन टोलीलाई सहयोग गरेको भएँ हुन्थ्यो नि ?
– हामी मिचेको देख्दैनौं, त्यहीँअनुसार प्रतिवेदन दियौं । अहिलेको सरकारले मिचिएको छ भनेर अध्ययन टोली बनायो । सो टोली सिमिकोट पुगेको छ, अध्ययन गरेर फर्केपछि केही त निष्कर्ष देला नि त ? प्रतीक्षा गरौँ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button