पोखराका मेयर बिरामी भएपछि तीन महिनादेखि विकासका काम ठप्प

पाेखरा न्यूज । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले चालू वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्यायो । तर हालसम्म त्यो प्रमाणीकरण भएको छैन । गत १ साउनमा मेयर मानबहादुर जिसीलाई मष्तिष्कघात भएपछि उहाँ काठमाडौंमा उपचाररत् हुनुहुन्छ ।

जिसी बिरामी भएपछि पोखराको आर्थिक तथा विकासका सबै गतिविधि ठप्प भएका छन् । मेयरको अनुपस्थितिमा उपमेयरले काम गर्नुपर्ने कानुनी व्यवस्था छ । तीन महिनासम्म उपमेयरले कार्यबाहक जिम्मेवारी पाउनु भएकाे छैन । यसले गर्दा कार्यपालिका बैठकसमेत बस्न सकेको छैन ।

अहिले पोखराका जनप्रतिनिधिहरूले नै विरोध गर्न थाल्नुभएकाे छ । पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले मेयरको पारिवारिक अड्चनका कारण कार्यबाहकको जिम्मेवारी नदिएको आरोप लगाउनु भएकाे छ ।

‘मेयरसाप बिरामी हुनुहुन्छ । उहाँलाई केही भन्ने ठाउँ छैन । तर उहाँको छोरीज्वाइँलगायतले कार्यबाहक दिन मानेका छैनन् । अहिले पोखराको सबै गतिविधि रोकिएको छ’, उहाँले भन्नुभयाे ।

कार्यकारी निर्णय गर्न नपाएका कारण राजश्व गुम्ने खतरा बढेको उहाँले बताउनु भयाे ।

‘रामघाटबाट वर्षेनी आठ करोडभन्दा बढी आम्दानी हुन्छ । तर अहिले टेण्डर आह्वान पनि भएको छैन,’ लामाले भन्नुभयाे, ‘कसको नियतका कारण यस्तो भइरहेको छ ? उपमेयरलाई कार्यबाहक नदिँदा पोखरामा ठूलो संकट निम्तिएको छ ।’

जिसी उपचारबाट फर्किए पनि अवस्था सामान्य नहुने चिकित्सकहरूले बताउनु भएकाे छ । अहिले महानगरमा राजश्व संकलन बाहेकका अन्य सबै काम रोकिएका छन् । कर्मचारीले तलब पाएका छैनन् । काम सकेका उपभोक्ताले भुक्तानी पाएका छैनन् । विभिन्न ठेक्को म्याद सकिएको छ । तर, नवीकरण हुन सकेको छैन । बाढीपीडितहरूलाई राहत र उद्धारमा समेत समस्या परेको वडाध्यक्षहरू बताउनु हुन्छ ।

‘बाढीपहिरोले जनधनको क्षति भयो । हामीले आश्वासन दिएर आयौं । महानगरले तत्काल राहत र उद्धार गर्नुपथ्र्यो, तर गरेन,’ लामा भन्नुहुन्छ, ‘हामीले आश्वासन दिएर आएका छौं । त्यसको निर्णय गर्ने अधिकार कार्यपालिकालाई छ । यो बैठक नै बस्न सकेन ।’

कांग्रेसलाई अहिले महाधिवेसन लागेको छ । वडाध्यक्ष र सदस्यहरूले महानगरको दैनिक कामकाजमा ध्यान दिनुभएकाे छैन । दलका सचेतक रामराज लामिछाने आफू चुनावमा व्यस्त भएकोले महानगरको काममा ध्यान नदिएको बताउनु भयाे ।

‘म नगरसभापतिको उम्मेदवार हुँ । पार्टीको चुनाव लागिरहेको छ । वडामा कार्यबाहक दिएको छ । महानगरमा के भइरहेको छ, मलाई थाहा छैन,’ उहाँले भन्नुभयाे, ‘चुनाव नसकिँदासम्म म केही बोल्दिनँ । चुनाव सकिएपछि खोजौंला ।’

उपमेयर मञ्जुदेवी गुरुङले मेयरको शल्यक्रिया सकिने बित्तिकै थप छलफल गर्ने बताउनु भयाे । ‘उहाँ शल्यक्रियामा हुनुहुन्छ । एक दुई पटक कुरा राखेको हो,’ उहाँले भन्नुभएकाे छ, ‘अहिलेसम्म खासै धेरै बिग्रिएको त केही छैन । तर महत्वपूर्ण निर्णयहरू गर्न सकिएको छैन । अड्चन आइरहेको छ ।’

पोखरामा मेयर उपमेयरसहित २२ वडाध्यक्ष एमालेबाट निर्वाचित भएका हुन् भने ११ वटा वडाध्यक्ष कांग्रेसतर्फबाट निर्वाचित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button