प्रचण्ड चिन्ता : चन्द्रशेखर आजाद जस्तै मैले पनि सुसाइड गर्नुपर्ने हो कि ! 

पोखरा न्यूज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पनि चन्द्रशेखर आजाद जस्तै सुसाइड गर्नुपर्ने हो कि भनेर चिन्ता व्यक्त गर्नुभएको छ  ।

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  भारतका क्रान्तिकारी चन्द्रशेखर आजादले आत्मसमर्पण नगरेर आजाद रहने भन्दै सुसाइड गरेजस्तै अवस्था आफ्नो हकमा पनि आउने हो कि भन्दै चिन्ता व्यक्त गर्नुभएको हो  ।

‘हिजो जनयुद्धमा घेरा हाल्ने र सखाप पार्ने रणनीति थियो । घेरा तोड्ने र प्रतिरोध गरेर परास्त गर्ने गर्‍यौँ । अहिले फेरि त्यही प्रवृत्ति दोहोरियो’, उहाँले भन्नुभयो, ‘अहिले फेरि लडाइँ गर्ने कि छाडिदिने ? यति रहेछ भनेर रोकिने ?’

प्रचण्डले आफूले आत्मसमर्पण गर्न नसक्ने भन्दै कि लड्नुपर्ने कि सुसाइड गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो   । ‘भगत सिंहको फिल्ममा चन्द्रशेखरले लड्दै गर्दा चारैतिर घेरा हालिएको हुन्छ । प्रतिक्रियावादीले मार्ने नै भए भनेर चन्द्रशेखरले माटो समातेर मैले यति नै सकेँ आमा भनेर आत्महत्या गरे । झण्डैझण्डै मेरो अगाडि त्यही अवस्था छ’, उहाँले भन्नुभयो , ‘मैले आत्मसमर्पण गर्न सक्दिनँ । यत्रो शहीद, बेपत्ता परिवारको ऋण मेरो टाउकोमाथि छ । या त सक्दिनँ भनेर सुसाइड गर्नुपर्‍यो । सबै सुसाइड नकारात्मक हुँदैनन् है ! मार्क्सका छोरी-ज्वाइँले पनि सुसाइड गरेका थिए ।’

प्रचण्डले या सुसाइड रोज्नुपर्ने वा फेरि लड्नुपर्ने विकल्प बाँकी रहेको बताउनुभयो । ‘या त फेरि लड्नुपर्छ । जोखिम उठाएर लड्ने, जेल जानुपर्छ वा मर्नुपर्छ भने पनि मर्ने । तर, कुनै हालतमा प्रतिक्रियावादी शक्तिका अगाडि नझुक्ने भनेर हामीले संघर्ष गर्नुपर्छ’, उहाँले भन्नुभयो , ‘क्रान्ति गरेको नेता अवसरवादी भएर मर्नुपर्‍यो भने पीडा हुन्छ ।’

क्रान्तिकारी चरित्रमा ह्रास

अध्यक्ष प्रचण्डले माओवादीको क्रान्तिकारी चरित्रमा विस्तारै ह्रास आएको पनि बताउनुभयो  । ‘क्रान्ति, परिवर्तन र उत्पादनका निम्ति क्रान्तिकारी भएर काम गर्ने कुरामा स्खलन भएको छ । विस्तारै थाहा नपाईकन अरू दल जस्तै उस्तैउस्तै हुँदै जाने खतरा बढेको छ । पद, पैसा, कमिसनको निम्ति, दलाल, कमिसनखोरका हितका निम्ति बढी संवेदनशील हुने र घाइते अपांग, बेपत्ता परिवारलाई बिर्सिने प्रवृत्ति देखिएको छ’, उहाँले भन्नुभयो  ।

जो जति माथि पुग्यो, त्यो त्यति अवरसरवादी देखिएको, जो जति धेरै मन्त्री बन्यो, त्यति नै अवसरवादी भएको भन्दै उहाँले  आक्रोश पोख्नुभयो । ‘जसलाई धेरै मन्त्री बनाए, त्यो पतन भयो । दलालसँग गयो, जनतासँग बिच्छेद भयो’, उहाँले भन्नुभयो , ‘हिजो पार्टीलाई सर्वश्व बुझाउने, सम्पत्ति बुझाउने, लड्न जान पाइएन भनेर रुने साथीहरू आज पद पाइनँ भनेर रुने, पैसा पाइनँ, मन्त्री पाइनँ भनेर रुने भयौँ । थाहै नपाईकन क्रान्तिकारी विरासत गुमाउँदै छौँ ।’

अध्यक्ष प्रचण्डले  अझै पनि पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने अवसर रहेको बताउनुभयो । ‘कार्यकर्ता होइन, हामी नेता बिग्रेका छौँ । अब आफैँ सच्चिनुपर्छ भनेर हिँडेका छौँ । हामीले फेरि एक पटक समाजवादी क्रान्तिको लडाइँमा जाने निर्णय गरेका छौँ । त्यसमा कार्यकर्ताले मनन गर्नुपर्छ । समाजवादी रूपान्तरण हुनुपर्छ । यो पार्टीलाई रूपान्तरण गर्न संभव छ । माओवादीलाई सायद यो देशमा अन्तिम अवसर छ क्रान्तिकारी पार्टी बनाउन रूपान्तरण गर्ने’, उहाँले भन्नुभयो, ‘सामाजवादी क्रान्ति र रूपान्तरणका लागि मैले हामफालेँ । तपाईंहरू के गर्नुहहुन्छ ?’

११-१३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने र मौलिक बाटो, आन्दोलनको पहिचान झल्किने, विरासत झल्किने बाटो तय गर्ने उहाँको  भनाइ थियो । अनेरास्वियुका नेतालाई पनि केन्द्रीय समितिमा लैजाने र केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवा पुर्‍याउने उहाँले सुनाउनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button