बागलुङका द्वन्द्व पीडितको पीडा : चाडपर्वले झनै मुटु चिरिन्छ

पोखरा न्यूज । हिन्दु नेपालीहरूको महान पर्व विजय दशमी शुरु भएपछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । अध्ययन, रोजगारको क्रममा परिवारबाट टाढा रहेकाहरू घर फर्कने क्रम जारी छ । टीका थाप्न आउनेहरू हर्षित देखिन्छन् ।

दसैँमा परिवारका सबै सदस्य एकै ठाउँमा हुने । मिठो मसिनो खाने र रमाउने परम्परा हो । काम विशेषले परिवारबाट टाढिएका आफन्त घर आउने उत्साहले धेरैको परिवारमा खुसी छाउँछ । तर, बागलुङ नगरपालिका–२ निवासी बेपत्ताकी सदस्य परिवार जशोदा शर्मालाई जति–जति टीकाको दिन नजिकिँदै छ, उति उति मनमा दुःख र पीडा बढ्दै गएको छ ।

तत्कालीन द्वन्द्वको समयमा बेपत्ता श्रीमान् सूर्यप्रसाद शर्माको कुनै खबर नहुँदा उहाँले  विगत दुई दशयता हाँसीखुसीले दसैँ मनाउन सक्नुभएको छैन  । बीस वर्षअघि १ माघ २०५८ मा राज्य पक्षले सोधपुछको लागि भन्दै शर्मालाई लगेको थियो । त्यसयता परिवार उनको अवस्थाबारे परिवार बेखबर छन् ।

‘जतिजति चाडपर्व आउँछ उति–उति बेचैन लाग्छ’, जशोदा शर्माले भन्नुभयो, ‘सबैका परिवारका सदस्य घर आउँदा, मेरो परिवारको बखरसमेत आउँदैन ।’ चाडपर्वले झनै मुटु चिरिने उहाँको भनाइ छ । बेपत्ताको खबर सार्वजनिक नहुँदा परिवारका सदस्य झझल्कोमा बाँचेको शर्माले बताउनुभयो । ‘न फोटोमा टीका लगाउन सक्छु, न अवस्थाबारे थाहा छ’, उहाँले भन्नुभयो, ‘सरकार हामीलाई दसैँ कहिले आउँछ ।’

श्रीमानको अवस्था थाहा पाउन गुहार माग्दै संयुक्त राष्ट्र संघको मानव अधिकार समितिमासमेत पुग्नुभयो । मानव अधिकार समितिले नेपाल सरकारको नाममा शर्माको परिवारलाई बेपत्ताको अवस्थाबारे जानकारी दिनु, दोषीलाई कारबही गरी सजाय दिनु, सूर्यप्रसाद शर्मा जीवितै भएमा तत्काल रिहा गर्नु,  परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनु भने पनि सरकारले त्यसको कार्यान्वयन गरेको छैन ।

‘दशैमा सबै खुसी हुन्छन्, मेरो परिवारमा पीडामा हुन्छाैँ’, उहाँले भन्नुभयो , ‘सरकारले सत्यतथ्य सार्वजनिक नगर्दा हामी अन्याेलमा पर्‍यौँ।’

बागलुङको जैमिनी नगरपालिका राङखानीका बिमल केसीलाई पनि दसैैँको खासै उत्साह छैन । द्वन्द्वकालमा बेपत्ता छोराको अवस्थाबारे कुनै खबर नहुँदा उहाँलाई चाडपर्वले झनै पीडा थप्ने गर्छ । बेपत्ता गणेश केसीका दामलको गाउँ घरमा चहल पहल हुँदा छोरा सम्झिएर पटक पटक भक्काने छुट्ने केसीले बताउनुभयो ।

द्वन्द्व पीडितले मन बुझाएर चाडपर्व मनाउन सरकार जवाफदेही बन्नुपर्ने अधिवक्ता राम शर्माको भनाइ छ । द्वन्द्व पीडितले न्याय, परिपूरण, बेपत्ताको अवस्था सार्वजनिक र विस्थापितले सम्मानपूर्व बाच्ने अधिकारीको सुरक्षित गर्नुपर्नेमा उहाँको  जोड छ ।

बागलुङका द्वन्द्व पीडितले यस वर्षको दसैँमा दण्डहिनतालाई न्यायको लागि पीडितलाई सम्मानपूर्वक, वातावरणको लागि सरकारलाई मानव अधिकार, विधिको शासन, र जवाफदेहिताको लागि जिम्मेवारी प्रदान होस भन्ने शुभकामना दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button