गगन थापाको समर्थनमा कास्की सचिवमा भानु ढकालको उम्मेदवारी !

पोखरा न्यूज ।  नेपाल विद्यार्थी संघ कास्कीका नेता भानु ढकाल काँग्रेस जिल्ला सचिवमा उम्मेदवारी दिनुभएको छ  । जिल्ला अधिवेशनका लागि बिहीबार उहाँले  मनोनयन दर्ता गर्नुभएको हो  । नेवि संघमा २०५७ सालदेखि आबद्ध भएका ढकाल काँग्रेस भित्र नेता गगन थापा समूहमा हुनुहुन्छ ।

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइमा तीन कार्यकाल काम गरेका ढकाल कास्कीका पूर्व उपसभापति र पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ  । काँग्रेसको १३ औँ महाधिवेशनमा ढकाल तत्कालीन कालिका गाविस समितिमा सर्वसम्मत सभापति चुनिनुभएको थियो  । त्यसपछि कास्कीको मादी गाउँपालिका वडा नं. ५ को सभापति र गाउँपालिका कार्यसमितिको सचिव चुनिनुभएको थियो   ।

कास्कीमा नेपाली कांग्रेस कमजोर भएको भन्दै पुरानो विरासत फर्काउन आफूले सचिवमा उम्मेदवारी दिएको ढकालले बताउनुभयो । २०५६ सालमा कास्कीका सबैजसो स्थानीय तह र संसदीय निर्वाचनमा काँग्रेसले जितेको स्मरण गर्दै ढकालले त्यसयताका निर्वाचनमा भने कास्कीमा कांग्रेस कमजोर देखिएको बताउनुभयो  । ‘कास्कीमा काँग्रेसलाई बलियो बनाउनु छ,’ मतदातासँग मत माग्दै भन्नुभयो, ‘मलाई तपाईँको अमूल्य मत दिनोस्, म तपाईँलाई बलियो कांग्रेस दिन्छु ।’

काँग्रेसमा देखिएको युवा लहरलाई सही नेतृत्व प्रदान गर्नका लागि पनि आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो  । ‘अब युवा मतदातालाई काँग्रेसमा आकर्षित गर्ने काम गर्छु,’ उहाँले भन्नुभयो, ‘अग्रजबाट मार्ग निर्देशन लिएर युवालाई अघि बढाउन लाग्छु ।’

गगन थापा समूहबाट कास्कीमा प्यानल नदेखिए पनि सचिवमा भानुलाई उठाउन थापाकै जोडबल भएको उनी निकट नेताहरूले बताएका छन् । भानुलाई जिताउन थापाले कास्कीका नेताहरूसँग लबिङ समेत गरिरहेको काँग्रेस कास्कीका एक नेताले बताउनुभयो । सभापतिमा ५ जना उम्मेदवार रहे पनि ढकाल अहिलेसम्म कुनै पनि प्यानलमा हुनुहुन्न । सभापतिमा कसलाई सघाउने भनेर छलफल भइरहेको उहाँले बताउनुभयो  ।

ढकाल २०६२/०६३ को आन्दोलनमा कास्कीमा सर्वाधिक सक्रिय कांग्रेस नेता कमलमणि ढकालका भाइ हुनुहुन्छ  । तत्कालीन राजा ज्ञानेन्द्रको पश्चिमाञ्चल भ्रमणका बेला पुत्ला दहन गरेबापत कमलमणिसँगै भानु र अर्का नेता मोहन पण्डित एकैसाथ गिरफ्तार हुनुभएको थियो  ।

दसैँको घटस्थापनाका दिन गिरफ्तार परेकाहरूलाई तत्कालीन सरकारले राजद्रोहको मुद्दा लगाएको थियो । आन्दोलनका क्रममा ६५ पटक गिरफ्तार भएका भानुलाई ११ वटा सार्वजनिक मुद्दा लागेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button