पुस २७ गते गोरखामा सार्वजनिक बिदा

पोखरा न्यूज । पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । नगर कार्यपालिकाको बैठक बसेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि गोरखामा बिदा दिइएको थियो ।

सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको जानकारी दिइएको हो । ‘पृथ्वी जयन्तीको दिन नगरपालिकाका कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तरगतका सबै संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ,’ सूचनामा भनिएको छ ।

पृथ्वीनारायण शाह गोरखामा जन्मिएका हुन् भने गोरखाबाटै राष्ट्रिय एकीकरण अभियान सुरु गरेका थिए । दिवसकै अवसरमा पालिकाले तीन दिने कार्यक्रम आयोजना गरेको छ । पहिलो दिन २५ गते मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ भने दोस्रो दिन २६ गते द्रब्यशाह चौतारादेखि ठूलो आँगनसम्म ९ किलोमिटरमा दौड प्रतियोगिता आयोजना गरिएको मेयर राजनराज पन्तले जानकारी दिए ।

उनका अनुसार २७ गते बिहान अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ भने दिउँसो झाँकी र्‍याली हुनेछ । साँझ पृथ्वीनारायण शाहको सालिक भएको ठाउँमा पत्रकार महासंघले दीप प्रज्वलनको कार्यक्रम गर्ने छ । दिवस मनाउन मेयर पन्तको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल समिति गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button