ओमीक्रोन देखिएपछि कास्कीसँगै गण्डकीमा पनि कडाइको तयारी, महोत्सव नगर्न निर्देशन

पोखरा न्यूज । नेपालमा  कोरोना भाइरसको नयाँ भेरिअन्टका थप संक्रमित देखिएसँगै कास्की लगायत गण्डकी प्रदेशमा पनि कडाई गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले ओमीक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेशले ओमीक्रोन भाइरस बढ्न सक्ने आँकलनसहित चेकजाँच र जनस्वास्थ्य मापदण्डको पालनामा कडाई गर्न तयारी गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले शुक्रबार आयोजित ओमीक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिन तथा प्रदेशका स्वास्थ्य संरचनाहरु उपकरण, स्वास्थ्य सामाग्री,जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिन्डरको सहज उपलब्धता लगायतको व्यवस्थापन यथाशीघ्र गर्न निर्देशन दिनुभयो ।

उहाँले यस्तो अवस्थामा आयोजना गर्ने सबै खाले मेला महोत्सव बन्द गर्न सम्बन्धित निकायमा कुराकानी गर्न पनि सचिवलाई निर्देशन दिनुभएको छ ।

बैठकमा मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले मानिसको स्वास्थ्य भन्दा ठुलो अरू कुरा नभएकाले आवश्यक परे स्मार्ट लकडाउनसम्म पनि जान पर्ने अवस्था आउने बताउनुभयो ।

प्रदेशमा यसअघि गरिएका हेलो डाक्टर,कोरोना अपडेट लगायतका कामहरू पनि सुरु गरिने भएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी,लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् ।

भारत सँग सीमा जोडिएका नाकाहरूमा सरकारले १ १ हजार बेडको आइसोलेसन निर्माण गरेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको थियो।

२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ । नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button