विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा

लन्डन । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपाली अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा सञ्जिव सापकोटाले बताउनु भएकाे छ । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकेको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताउनु भएकाे हाे । सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसैगरी बेलायतमा बस्ने नेपालीहरु पनि कोरोनाविरुद्धको खोपमा अग्र स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालयका एसोसिएट डिन (इन्टरनेशनल) डा. पदम सिम्खडाले बताउनु भयाे । यहाँस्थित एक विश्वविद्यालयले हालै गरेको अनुसन्धानले उक्त कुराको पुष्टि गरेको भएपनि यसको तथ्यांक भने सार्वजनिक हुन बाँकी रहेको सिम्खडाले जानकारी दिनुभयाे । बेलायतमा खोप नलगाउनेको संख्या उल्लेख्य रहेको र नेपालीलाई पनि सोही वर्गमा राखिएकामा आफूले नेपाली खोप लगाउनेमध्ये अग्रपंक्तिमा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको पनि उहाँले बताउनु भयाे । पोस्ट कोभिड र खोपको बारेमा गरिएको उक्त भर्चुअल कार्यक्रममा भाइरसले कसरी आक्रमण गर्छ, यसबाट बच्ने उपाय, खोपको महत्व, नयाँ भेरिएन्ट ओमिक्रोन लगायत यसका लक्षणबारे वक्ताद्वय सापकोटा र सिम्खडाले प्रष्ट पार्नुभएकाे थियाे।

विश्वभर कोरोना संक्रमितको संख्या अत्यधिक देखिए पनि मृत्यु हुनेको संख्या भने करिब १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको र मृत्यु हुनेको संख्या करिब १० प्रतिशत रहेको सापकोटाले जनाउनु भयाे । विश्वभरको तथ्यांक अनुसार ६३ प्रतिशत मानिसले खोपको पहिलो डोज लगाएका छन् भने ५० प्रतिशतले दुवै डोज लगाइसकेको उहाँले बताउनु भयाे । खोप लगाउँदैमा संक्रमण हुंदैन भन्ने धारणा गलत रहेको र यसबाट बच्न मास्क, सेनिटाइजर तथा साबुनपानीले हात धुने बानी नै उत्तम उपाय रहेको पनि उहाँले बताउनु भयाे ।

उहाँले थप्नुभयाे, खोप लगाए पनि नलगाए पनि भाइरसले सबैलाई आक्रमण प्रयास गर्छ । तर, खोप लगाएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले यसको असर कम हुने गर्दछ । नाक र मुखबाट मात्र भाइरस शरीरमा प्रवेश गर्ने हुँदा यसमा सबैभन्दा सतर्कता अपनाउनुपर्ने उहाँको धारणा छ । भाइरस सुक्ष्म भएकाले शरीरमा प्रवेश गरेपछि मानव सेलमा असर गर्दछ । शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिको आधारमा यसको असर कम वा बढी हुने गर्दछ । भाइरसले बेलाबेलामा स्वरूप परिवर्तन गर्दै नयाँ भेरिएन्टको रुपमा देखा पर्दछ जुन पछिल्लो समयमा ओमोक्रोनको रुपमा देखा परेको छ ।

ओमिक्रोन बढी संक्रामक भएको र कम घातक सावित रहे पनि विश्व स्वास्थ्य संगठनले भने कुनै ठाउँमा बढी घातक बताएको पनि सापकोटाले बताउनु भएकाे हाे । यसको असर सबैमा समान नहुने र व्यक्ति र उनीहरुको स्वास्थ्यस्थितिमा भर पर्ने उहाँको धारणा छ । नेपालमा कोभिसिल्ड वा भेरोसेलको खोप लगाएर पर्यटक भिसामा नेपालबाट बेलायत आएकाहरुले बुस्टर डोज लगाउँदा फाइजर, मोडेर्ना तथा अक्सफोर्ड एष्ट्राजेनेकाको खोप लगाउन उपयुक्त हुने विज्ञको राय छ ।

एकपटक मोडेर्ना शृंखला पूरा गरेपछि भने फाइजर वा मोडेर्नाको बुस्टर डोज लिन सकिनेछ । कोरोना संक्रमणपछि ३, ४ हप्तासम्म जोर्नी दुख्ने, सुत्न गाह्रो हुने, मुटुको समस्या हुने लगायत समस्या भएमा पोस्ट कोभिडको रुपमा हेर्ने गरिन्छ । यसबारेमा अध्ययन जारी रहेको र यस्ता लक्षण देखिएमा प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्यकर्मीसंग सल्लाह लिन वक्ताहरुले सल्लाह दिएका छन् । यस्ता ठूला महामारीहरु पटक पटक आइरहेको र सन् १९१८ मा स्पेनिस फ्लू, १९५७ मा एसियन फ्लू, १९६८ मा हङ कङ फ्लू, १९७७ को फ्लू र २००९ मा स्वाइन फ्लू जस्ता इतिहासलाई केलाउँदा हरेक ४० वर्षमा एउटा महामारी आउने सापकोटाले बताउनु भयाे ।

यसैगरी खोप नलगाएका ९० प्रतिशत मानिसहरु अस्पताल भर्ना हुने गरेको बेलायतको तथ्यांक रहेको डा पदम सिम्खडाले बताउनु भयाे । वर्तमान अवस्थामा खोप लगाउनु अत्यन्त जरुरी रहेको बताउंदै उहाँले खोप लगाएका मानिसबाट उत्पन्न हुने नयाँ भेरिएन्टले कम असर गर्ने धारणा राख्नुभयाे । भाइरस संक्रमण बढ्नका लागि खोप नलगाएका र शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुको जरुरत हुने भएकाले खोपको प्रभाव बढेसंगै ओमिक्रोनको प्रभाव पनि कम हुँदै गएको र भावी दिनमा आउने नयाँ भेरिएन्ट कमजोर हुनसक्ने उहाँले बताउनु भयाे । ओमिक्रोनको भर्खर देखिएको नयाँ भेरिएन्ट पनि ओमिक्रोनसंग मिल्दोजुल्दो रहेको र यसको थप अध्ययन भइरहेको उहाँले बताउनु भयाे ।

कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण नहुने र मानव समूदायमा साधारण फ्लूको रुपमा रहिरहने उहाँको धारणा थियो । भ्याक्सिनको प्रभावले गर्दा कम भाइरस हानिकारक र बिस्तारै जनजीवन सहज हुने पनि उहाँले बताउनु भयाे । कोरोना भाइरस नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण विषय राजनैतिक नेतृत्वको पनि हो भन्ने कोरोना महामारीले सिकाएको महत्वपूर्ण पाठ रहेको सिम्खडाले बताउनु भयाे । स्वास्थ्यकर्मी, स्वास्थ्य सुविधा, स्वास्थ्यसम्बन्धि प्रविधि र देशको आर्थिक अवस्था मात्र कोरोना नियन्त्रणमा पर्याप्त नहुने यसपटकको महामारीले पुष्टि गरेको उहाँले बताउनु भयाे । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ बेलायतका महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गर्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button