युवकको हत्या गरी बहराइन पुगेका गुरुङलाई पक्राउ गरी यसरी ल्याइयो पोखरा

पोखरा न्यूज । कास्की प्रहरीले १६ वर्ष अघिको ज्यान मुद्दाका फरार प्रतिवादीलाई बुधबार पोखरामा सार्वजनिक गरेको छ ।

सुनसरीको धरान घर भई पोखराको लेखनाथमा मजदुरी काम गरी बस्ने २० वर्षीय रोजन राईको हत्यामा संलग्न लेखनाथ सातमुहानेका ४६ वर्षीय अशोक गुरुङलाई १६ वर्षपछि प्रहरीले बहराइनबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

पुस १ गते बहराइनमा पक्राउ परेका गुरुङलाई इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले फागुन २४ गते बहराइन प्रहरीको सहयोगमा मंगलबार महानगरीय प्रहरी वृत्त गौशाला काठमाण्डौमा ल्याई राखेकोमा कास्की प्रहरीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार २०६३ वैशाख २९ मा गुरुङको कुटपिटबाट सख्त घाइते भएका राईको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल पोखरामा २०६३ जेठ २ गते मृत्यु भएको थियो ।

घटना लगतै फरार भएका गुरुङ पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेका थिए ।

कास्की प्रहरीले गत भदौमा मुद्दाको फलो अप गर्ने क्रममा जिल्ला अदालतले असोज ६ गते पक्राउ अनुमित प्रदान गरेको थियो । पक्राउ अनुमितसँगै कास्की प्रहरीको अनुरोधमा २०७८ मंसिर २७ मा गुरुङविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि इन्टरपोल महासचिवालय मार्फत‘रेड नोटिस’ जारी भएको थियो।

गुरुङलाई बुधबार पहिलोपटक कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button