एकीकृत समाजवादी कास्की १ को प्रथम भेला सम्पन्न

पौडेलको अध्यक्षतामा ३५ सदस्सीय रुपा गाउँपालिका कमिटी गठन

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी कास्कीको क्षेत्र नम्बर १ को प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखराको लेखनाथमा सम्पन्न भएको छ । क्षेत्रीय संयोजक.दिननाथ ढकालको अध्यक्षतामा लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रम १९ बुँदे कार्य योजना पारित गर्दै सम्पन्न भएको हो।

भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एकीकृत समाजवादीका उपमहासचिव एवं केन्द्रीय प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा एस बनाउन सबैले विद्रोह गरेर साहस गरेको भएपनि चरम अत्याचारका विरुद्ध उत्रिने साहस कास्कीका जनताले देखाएको भन्दै सहभागीहरूको प्रशंसा गर्नुभयो ।

एमालेको चरम अत्याचार र अवरोधका बाबजुद कास्की जिल्लामा नेकपा एसमा ठुलो संख्याले पार्टी सदस्यता लिएको र जनताको समेत साथ समर्थन बढ्दै गएको पाइएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

नेकपा एस देशभर चुनाव लड्न सक्षम भएको उल्लेख गर्दै उहाँले स्थानीय चुनावमा प्रतिगमनका विरुद्ध लडेका दलहरूका बिचमा गठबन्धन हुने र नेकपा एसबाट उठ्ने सबै उम्मेदवारले जित्ने गरी अघि बढ्ने बताउनुभयो । वैशाख ३० गते नेकपा एसका लागि कलमले इतिहास लेख्ने दिन भएको उहाँको भनाई थियो ।

कार्यक्रममा विशेष अतिथि पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेश कमिटी उपाध्यक्ष श्रीनाथ बरालले नेकपा एस प्रतिगमनका विरुद्ध ठुलो आट र त्यागका साथ विद्रोह गरेर जन्मिएको पार्टी भएको बताउँदै पार्टीमा जनताको साथ समर्थन बढ्दै गएको बताउनुभयो ।

कास्कीका तीन वटै क्षेत्रमा पार्टी बिस्तार हुँदै गएको बताउँदै उहाँले वैशाखमा चुनाव लड्न तयार अवस्थामा रहनुपर्ने र जित्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा एसको कमजोर क्षेत्र भनेर पार्टी गठनका बेला गण्डकी प्रदेशलाई हल्ला चलेकोमा जनता नेता तथा कार्यकर्ताको उत्साहले त्यसलाई गलत साबित गरिदिएको उहाँले बताउनुभयो ।

पोलिटब्युरो सदस्य एवं युवा फाँट इन्चार्ज दिलु पन्तले पार्टीमा युवाहरूको आकर्षण बढेको बताउनुभयो । केपी ओलीको दम्भ र सत्ता स्वार्थका कारण पार्टीमा सहयोगात्मक भएर सधैँ पिलरको भूमिमा निभाएका निष्ठावान् नेता कार्यकर्ताहरूले विद्रोह गरेर नेकपा एस बनाएको उल्लेख गर्दै उहाँले पिलर बिनाको एमाले नटिक्ने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष धनराज आचार्यले जिल्लामा पार्टीको अवस्था मजबुत हुँदै गएको बताउनुभयो । जिल्लामा पालिका र वडा कमिटी गठनको कार्य पुरा गरी उत्साहजनक अवस्थामा टोल कमिटीहरू गठन भइरहेको उहाँले बताउनुभयो । उहाँले वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि लक्षित गर्दै कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।

क्षेत्र नं १ का इन्चार्ज एवं युवा संघका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले कास्कीको क्षेत्र नम्बर १ नेकपा एसका लागि फलामको चिउरा चपाउनु जस्तै भएको भनेर गरिएको हल्लालाई शनिवारको भेलाले गलत साबित गरिदिएको बताउनुभयो । शनिवारको उत्साहजनक उपस्थितिले पार्टी चुनाव लड्न तयारी अवस्थामा छ भन्ने पुष्टि भएको र यस्तै तवरबाट अघि बढेको खण्डमा चुनावमा राम्रो नतिजा प्राप्त हुने बताउनुभयो ।

केपी ओलीले जनताले दिएको दुई तिहाइको मतलाई संरक्षण गरेर एउटा पनि राम्रो काम गर्न नसकेको बताउँदै दुई तिहाइको सरकार हुँदा हुँदै एकल दम्भका लागि संसद्को हत्या गर्ने प्रतिगमनको मतियारले लाजै नमानी जनता सँग एमालेलाई बहुमत देऊ भन्दै भाषण गर्नु हास्यास्पद भएको बताउनुभयो । विघटित संसद् पुनर्स्थापना गराउने प्रमुख घटक तथा संविधानको रक्षकको रूपमा नेकपा एसलाई जनताले चिनेको बताउँदै नेकपा एसको पक्षमा आकर्षण दिनदिनै बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य गोकर्ण तिवारी, पोखरा महानगर उपाध्यक्ष प्रेम थापा, पार्यिका वडा नं ३० का अध्यक्ष लगायतले सम्बोधन गर्नुभएको थियो । क्षेत्रीय सचिव जीत बहादुर सुनारले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कमिटी उपसचिव एवं १(ख)का इन्चार्ज डि.बि.राईले गर्नुभएको थियो।

भेलाले शनिबार नै कपिल पौडेलको अध्यक्षतामा ३५ सदस्सीय रुपा गाउँपालिका कमिटी समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुप्रसाद ओझा र जीवन नेपाली, सचिवमा विश्वराज सुबेदी, उपसचिवमा कृष्ण प्रसाद सुबेदी, भोजराज पौडेल र गीता बराल चयन हुनुभएको छ ।

त्यसै गरी समितिको सदस्यहरूमा रामचन्द्र ओझा, राजकुमार सुबेदी, किशोर पौड्याल, सुर्यमोहन ओझा, सन्तोष सुबेदी, सोबिता ओझा, बद्री ओझा, महेन्द्र ओझा, सुमन न्यौपाने, विशाल ओझा र जुना नेपाली रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button