
पोखरा न्यूज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक महिना भित्र सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउने बताउनुभएको छ ।
पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आगामी चुनावमा माओवादी केन्द्र कसैसँग नजाने, बरु अरू सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्ने बताउनुभएको हो ।
देशै भरी माओवादी प्रति सकारात्मक, एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हामी होइन हेर्नुहोला अव एक महिनाभित्र अरू सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौँ , यो कुराको चेतना सबैलाई आउँदै छ ।’
माओवादी केन्द्र एक्लै चुनाव लड्न सक्षम भएको र चुनावबाट पहिलो पार्टी बन्ने सम्भावना समेत बढेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘देशभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना तिर अगाडि बढी सकेका छौँ , कार्यक्रममा जो उभार देखेका छौँ त्यो हेर्दा माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार दिलाउने, बिचमा हामीले गल्ती गरेछौँ भन्ने रियलाइजेसन भएको छ जनतामा ।’
चुनावमा अहिलेकै सत्ता गठबन्धन मिलेर जाने स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले काँग्रेसले अति गरेको खण्डमा भने विकल्प खोज्नुपर्ने बाध्यता आउने बताउनुभयो ।





