पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा : मन्त्री आले

पोखरा न्यूज । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउने बताउनुभएको छ ।

चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको  विमानस्थल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत पोखरा आउनुभएका मन्त्री आलेले आगामी ६ महिनाभित्रमा विमानस्थल सञ्चालनमा आउने बताउनुभएको हो ।

सरकारले आवश्यक तयारी पूरा गरेर आगामी ६ महिनाभित्रमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा  सञ्चालनमा ल्याउने उहाँको भनाई थियो ।

‘आजको कार्यक्रमले विमानस्थलको निर्माण कार्य सम्पन्न भयो भन्ने सन्देश दिएको छ । यसबाट सकारात्मक सन्देश प्रवाह भएको छ ।   अब यहाँका पर्यटन व्यवसायीहरूले ठुलठुला होटल, रेस्टुरेन्ट, साहसिक खेल लगायतका  पर्यटनका क्षेत्रमा लगानी गर्नुपर्दछ ।

पोखरामा तीन तारे पाँच तारे होटल मात्र नभई सात तारे होटलहरुमा लगानी गर्नुपर्ने बताउँदै उहाँले लगानीकर्तालाई  सहज तवरले ठुलठुला होटल तथा क्यासिनो सञ्चालनका लागि इजाजत प्रदान गरिने बताउनुभयो ।

रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खोल्ने विषयमा आफूले पहल गरिरहेको बताउँदै उहाँले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि समेत सरकार लागिपरेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले विमानस्थल निर्माण भई हस्तान्तरण हुनुले पोखरेलीहरूको झन्डै आधा शताब्दीको सपना पुरा भएको बताउनुभयो ।

उहाँले विमानस्थलका मुख्य मुख्य काम सकिए पनि विमानस्थल सञ्चालनमा ल्याउन रिठेपानी डाँडा कटान, डम्पिङसाइटको व्यवस्थापन लगायतका समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।

सिएएमसीइका अध्यक्ष यानले सबैको साथ र समर्थनबाट पोखरामा अत्याधुनिक विमानस्थल निर्माण भएको भन्दै विमानस्थलले पोखराको आर्थिक विकास र समृद्धिमा ठुलो योगदान पुर्‍याउने बताउनुभयो । ऐतिहासिक समारोहमा उपस्थित हुन पाउँदा आफूलाई  गौरव लागेको उहाँको भनाइ थियो ।

चीनका राज्य परिषद् सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज साँझ राजधानी काठमाडौँ र निर्माण स्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बिच विमानस्थल हस्तान्तरण गरिएको हो ।

काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चीनका परराष्ट्र मन्त्री यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गर्नुभयो  । मन्त्री आलेले पोखरामा सिएएमसीका अध्यक्ष लु यानलाई कदर पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको सो विमानस्थलको मुख्य निर्माण र जडानको कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनान्कर्मीले जानकारी दिनुभयो  । उहाँका= अनुसार विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएकाले बाँकी कार्य पनि निरन्तर सञ्चालन हुनेछ ।

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत १४ भवन, ट्याक्सी वे लगायतका मुख्य काम सम्पन्न भएको छ । बाँकी काम निर्माण कम्पनीले निर्धारित समयमा पूरा गर्ने जनाइएको छ ।

विमानस्थल सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि कोरोना सङ्क्रमणका कारण निर्माण कार्य प्रभावित भएपछि एक वर्ष म्याद थपिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button