कांग्रेसका धेरैजसो केन्द्रीय सदस्य गठबन्धनसहित चुनावमा जाने पक्षमा

काठमाडाैं । नेपाली कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने वा एक्लै लड्ने भन्ने बहस जारी छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा हुनुहुन्छ भने संस्थापन इतर समूहका नेता शेखर कोइराला एक्लै चुनाव लड्नुपर्ने अडानमा हुनुहुन्छ ।

सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनु भएका पार्टीका अर्का नेता रामचन्द्र पौडेलले पनि चुनावसम्मै गठबन्धन कायमै रहने बताउँदै आउनु भएकाे छ । सभापति देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सत्ता गठबन्धनका दलहरूले चुनावी तालमेल गर्ने डरले कांग्रेस गठबन्धनसहित चुनावमा जाने अभिव्यक्ति दिएको राजनीतिक वृत्तमा चर्चा भएको छ ।

विशेष गरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दा कांग्रेसलाई देशैभर क्षति हुने त्रास कांग्रेसमा देखिएको छ । सोही चुनावी अंकगणितको लेखाजोखा गरेर देउवाले चुनावी गठबन्धन आवश्यक ठानेका उहाँ निकट नेता बताउँछन् ।

नेता कोइरालाले भने कांग्रेस आफैंमा शक्तिशाली पार्टी भएकाले अन्य दलहरूको साथ आवश्यक ठान्नुभएकाे छैन । कोइरालाले चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीसँग मिल्न दिने भए दिउँ भनेर देउवासँग प्रस्ताव पनि गर्नुभएकाे छ ।

केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जितले केन्द्रदेखि स्थानीय तहसम्म चुनावी तालमेल आवश्यक रहेको बताउनु भयाे । कांग्रेस पहिलो पार्टी बनेर देश हाँक्न पनि चुनावी गठबन्धन आवश्यक रहेको उहाँको भनाइ छ । यद्यपि पार्टीको चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिको रिपोर्टको आधारमा निर्णय लिनु राम्रो हुने उनाँले बताउनु भयाे । तर अहिलेको राजनीतिक माहोल हेर्दा गठबन्धनसहित चुनावमा जाँदा राम्रो हुने उहाँको भनाइ छ ।

‘प्रजातान्त्रिक पार्टीमा विचारहरू राख्न पाइन्छ । पार्टीकै एउटा समूहले एक्लै चुनाव लड्ने भन्दै आएको छ । सभापति देउवा, नेता पौडेल गठबन्धनसहित लड्ने भन्दै हुनुहुन्छ । पार्टीले औपचारिक निर्णय लिन बाँकी छ । तर मेरो व्यक्तिगत विचारमा गठबन्धनसहित चुनावमा लड्दा पार्टी र देशलाई फाइदा हुन्छ जस्तो लाग्छ,’ नेता रञ्जितले भन्नुभयाे।

अर्का केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि कांग्रेस अन्य कुनै दलसँग मिलेर जाँदा राम्रो हुने बताउनु भयाे । जारी पार्टीको केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भएकाले छलफलको आधारमा औपचारिक निर्णय लिने बताउनु भयाे । गठबन्धनबारे पार्टीमा नेताहरूको व्यक्तिगत धारणा आएका तर पार्टीकै औपचारिक निर्णय बैठकपछि आउने उहाँको भनाइ छ ।

अर्की केन्द्रीय सदस्य सुजाता कोइराला पनि चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । कुन दलसँग कसरी गठबन्धन गर्दा फाइदा हुन्छ त्यो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने उहाँको भनाइ छ । यसअघिको चुनावमा भएका कमजोरीलाई पनि सच्याउन उहाँले नेतृत्वलाई आग्रह गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button