घले गाउँलाई २ वैशाखमा सुखी गाउँ घाेषणा गरिने

लमजुङ । २०४० को दशकसम्म घलेगाउँ दुर्गम पिछडिएको र गरिव गाउँको रुपमा चिनिन्थ्यो । ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २३ वैशाख २०५७ प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।

फागुन २०६४ मा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज)का साथै १७ मंसिर २०७६मा स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ ।

अब घलेगाउँ यतिले मात्र परिचित छैन, घलेगाउँलाई अब सुखीहरुको गाउँसमेत भनिनेछ । स्मार्ट भिलेज पर्यटकीय गाउँ घलेगाउँलाई सुखी गाउँ घोषणा गरिने भएको छ ।

२ वैशाखमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा घलेगाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको हो । गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’को रुपमा घोषणा गर्न लागिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेजन घलेगाउँ, लमजुङका अध्यक्ष प्रेमबहादुर घलेले बताउनु भयाे ।

घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो । घलेगाउँमा सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा पुगिसकेको छ ।

घलेगाउँका १३५ घरधुरी रहेकोमा ४२ घरधुरीले होमस्टे चलाएका छन् । होमस्टे सञ्चालन नगरेका स्थानीयले ग्रामीण पर्यटनलाई लक्षित गरी अन्य व्यापार, व्यवसाय तथा कृषि पेशा संचालन गरेका छन् ।

स्थानीयले भेडाको ऊन, निगालो साथै अल्लोबाट हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन बढाएका छन् । अन्य परम्परागत पेसा, व्यवसायको पनि जगेर्ना गरिएको छ । यसले यहाँको दीगो आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्‍याउनुका साथै प्राचीन सभ्यता र संस्कृति संरक्षणमा थप मद्दत पुगेको छ ।

गाउँमा प्राचीन इतिहास झल्काउने संग्रहालयको निर्माण गरिएको छ । पर्यटक आगमनको वृद्धिले यहाँको ग्रामीण जीनवस्तर माथि उठ्नुका साथै पर्यावरण र संस्कृतिको जगेर्ना भएकाले पनि यहाँको पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको क्वलहोलासोँथर गाउँपालिकाका अध्यक्षसमेत रहेका घलेले बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button