पाेखरा महानगरमा हानथाप भएपछि कास्की कांग्रेसका नेताहरूलाई देउवाले बोलाए काठमाडौं

पोखरा । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिटबाँडफाँट हुन सकेकाे छैन ।

कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरुले पाेखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेकाे छ ।

कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन् ।

कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ ।

उनीहरुको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकांक्षीले पोखरा भिजन निर्माण गरिरहेका छन् ।

यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाउनु भएकाे छ ।

प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौं हिँड्नुभएकाे छ ।

‘उहाँ (सभापति)ले बोलाउनुभएको छ । हामीले अहिलेसम्म गरेका निर्णय र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौं,’ सभापति बरालले भन्नुभयाे, ‘किन बोलाउनुभयो भन्ने थाहा छैन । चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौं ।’

उहाँले पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरु रहेको बताउनु भयाे ।

अघिल्लो साता जिल्लाका झण्डै १ सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेट्नुभएकाे थियाे ।

त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिनुभएकाे थियाे ।

अहिले उहाँले बोलाएपछि काठमाडौं हिँडेको बरालले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button