
पाेखरा । पाेखरा महानगरको मेयरमा गठबन्धनबाट दाेस्राे बागी उम्मेदवारी परेकाे छ ।
कांग्रेसबाट मेयर दाबी गर्नुभएका ऋषि सापकाेटाले मनाेनयन दर्ता गर्नुभएकाे हाे।
उहाँ कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुनुहुन्छ ।
पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले हिजाे मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएकाे थियाे ।
केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेद्वारी दर्ता गरेको कार्कीले बताउनु भयाे ।
‘सिण्डिकेट लागू गर्यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने ?,’ उहाँले भन्नुभयाे, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’
कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताउनु भयाे ।
‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्यो ? मिलेर पद बाँड्दा भैगो त,’ उहाँले अघि थप्नुभयाे, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ । मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’
सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष हुनुहुन्थ्याे ।
गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलकाे चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएकाे सापकाेटाले बताउनु भएकाे छ ।





