बेलायतमा भएको वर्ल्ड ट्राभल मार्टमा नेपालको प्रवर्द्धन

संयुक्त अधिराज्य बेलायतमा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिज्म मार्ट’मार्फत् नेपालको प्रवर्द्धन गरिएको छ ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको सहभागिता रहेको मेलामा नेपालको पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको हो । कोभिड-१९ महामारीपछि आयोजना गरिएको उक्त मार्टमा नेपालको सहभागिताले मुलुकको पर्यटन प्रवर्द्धनका साथै पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने बोर्डको भनाइ छ ।

मेलामा नेपालको स्टलको गत कात्तिक २१ मा उद्घाटन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सहभागी कम्पनीमार्फत् नेपाल प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत आचार्यले नेपाल स्टलमा रहेको प्रत्येक सहभागी कम्पनीको निरीक्षण भ्रमण गर्नुका साथै सहभागी सबै कम्पनीलाई नेपालको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले कोभिडपछिको नेपालको पर्यटन प्रवर्द्धनमा मेलाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मेलामा नेपाली व्यवसायीहरूले निजी क्षेत्रका पुराना व्यावसायिक सम्पर्कहरू नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएको उल्लेख गर्दै उहाँले यसबाट नेपालको पर्यटनलाई पुनः लयमा फर्काउन सहयोग पुग्ने बताउनुभयो ।

मेलामा विश्वभरका सबै प्रकारका पर्यटन आपूर्तिकर्ता र राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन सङ्गठन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, ट्राभल एजेन्ट, टूर अपरेटर, होटल व्यवसायी, ट्राभल टेक कम्पनी, यातायात अपरेटर, एयरलाइन्स, साहसिक खेलकुद कम्पनी सञ्चारमाध्यमलगायतको सहभागिता थियो ।

कार्यक्रमकै अवसरमा लण्डनस्थित नेपाली राजदूतावास र पर्यटन बोर्डले संयुक्तरूपमा कात्तिक २२ गते लण्डनस्थित नेपाली दूतावासमा नेपाल साँझ विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रख्यात बेलायती पर्वतारोही तथा साहसिक कार्यकर्ता सर क्रिस बोनिङटन र एलन हिङ्गसले नेपालमा आफ्नो आरोहण तथा अनुभव स्मरण गर्दै सम्पूर्ण बेलायती जनतालाई जीवनभरको अनुभवका लागि नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा एक सयभन्दा बढी बेलायती ट्राभल टूर अपरेटर, बेलायती पर्वतारोही, सञ्चारमाध्यम अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button