एमाले नेतृ विद्या भट्टराईद्धारा स्व. रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण

कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेतृ विद्या भट्टराई अधिकारीले आज पोखरा-१८ जामुनाबोटमा पुगेर स्वर्गीय रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएपछि उहाँले जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा पुगेर पति रविन्द्र अधिकारीको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको हो । २०७६ साल फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो ।

अधिकारीको निधन पछि भएको उपनिर्वाचनमा विजयी हुनुभएकी भट्टराई यस पटकको विजयसँगै दोस्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको हो । सो अवसरमा कास्की निर्वाचन क्षेत्र २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य भिमबहादुर कार्कीलगायत एमालेका नेता तथा कार्यकर्ताले विकास प्रेमी नेता स्व. रविन्द्रको शालिकमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।

कार्यक्रमपछि आजै पोखरा १६ बाटुलेचौरस्थित जननेता मदन भण्डारी र जीवराज आश्रितको अर्धकदको शालिक, महेन्द्रपुलमा रहेको जनआन्दोलनका सहिद भिमसेन दाहाल, मुस्ताङचोकस्थित कम्यूनिष्ट नेता चित्रबहादुर गुरुङ, पोखरा ७ राष्ट्रबैंकचोकस्थित शहीद झपिन्द्र कार्कीको शालिकमा पनि माल्यार्पण सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button