कस्तो रहला आजको दिन, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रो : आज पुस १२ गते २०७९ साल, मङ्गलबार । तद्नुसार डिसेम्बर महिनाको २७ तारिख, २०२२ । पौषकृष्णपक्ष पञ्चमी, बब करण, धनिष्ठा नक्षत्र, बज्र योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५४ मा हुनेछ भने सूर्यास्त ५ः१७ मा हुनेछ ।

आजका देवता बरुण र ग्रहदेव चन्द्र हुन् । मङ्गलबारलाई हनुमान र गणेश बार भनिन्छ । मङ्गलबार गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । मङ्गलबार कर्जा वा ऋण कारोबार उत्तम मानिँदैन । मङ्गलबार अचल सम्पत्तिको कारोबार पनि शुभ हुँदैन । आज बिहान ११ः४४ देखि १२ः२५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि कार्य गर्दा शुभ हुनेछ । रक्तदान गर्नको लागि आजको दिन शुभ हुनेछ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिका जातकले हरेक मङ्गलबारको दिन नयाँ कामको शुरुवात गर्न सक्नेछन् । धनलाभ, स्वास्थ्यमा अनुकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । विलासिताको सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुने सम्भावना रहन्छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) – अध्ययन अध्यापनमा समय दिनुभयो भने मनको चिन्ता हट्दै जानेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्ममा मन लगाउनु होला । बालक, बृद्धलाई भोजन र वस्त्र दान गर्नुभयो भने मन खुसी हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) – आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशिका जातकले आजको दिन मौन रहनु ठीक होला । व्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । मौन रहेर काम गर्दा निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने, नियमित काम मात्र गर्ने, नयाँ कामको शुरुवात नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) – तपाईका लागि आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलनेछन् । अर्थ कारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकम पाउनुहुनेछ । कसैमाथि नकारात्मक सोच राखेर काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) – आजको दिन घर परिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ । सिंह राशिका जातकले विचार गर्नुहोला । लामो दुरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट धोका हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) – दाम्पत्य जीवनमा सुख, समृद्धि ल्याउने खालको योजना तय हुन सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात हुनसक्छ भने मानसम्मान समेत मिल्नेछ । तपाईले गरेका रोजगार वा व्यवसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) – आजको दिन त्यति समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमासमेत स्वास्थ्य समस्या हुनसक्छ । आजको दिन तुला राशिको जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक प्रश्न उठ्नसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) – व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आज काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) – तपाईले गरिरहनु भएको कामबाट आजको दिन सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिनेछ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने सम्भावना कम हुन्छ । व्यापार व्यवसायमा गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) – मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउनेछ । आज सोच जस्तै काम हुनेछ । तपाईले आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठ मन्दिर वा गणेशको मन्दिरको दर्शन र हनुमान चालिसा पाठ गर्ने वा सुन्नु मात्रले पनि उर्जा थप हुनेछ । गणेशको मन्दिरको परिक्रमा गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) – समय गणनाअनुसार आजको दिन अनुकुल देखिदैन । नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्ति छाउनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) – दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा मिष्ठान्न भोजन ल्याउँदा परिवारमा हर्ष छाउनेछ । मीन राशिका जातकले मंगलबार लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान तथा शिवालय र देवालयमा गएर भोकाहरुलाई खानेकुरा खान दिनुभयो भने तपाईको उन्नति र प्रगति हुँदै जानेछ । सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button