सकियो भदौरे पञ्चासे महोत्सव

कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित पर्यटकीय गाउँ भदौरेमा पुस ९ गते देखि आयोजना भएको ‘२४ औँ भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ ।

तमु ल्होसार कार्यक्रम, अन्नपूर्ण गाउँपालिका वडा स्तरीय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक सांस्कृतिक प्रस्तुतिलगायतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो ।

महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफुलाई सेवकको रुपमा निर्वाचित गराएको हुँदा विकास निर्माणका कार्यमा सेवककै रुपमा सक्रिय भएरै लागिरहने बताए । विगत देखिनै भदौरे फुटबल खेलमैदानमा प्यारापिटको आवश्यकता रहेको बताउँदै सांसद बरालले आवश्यक पहल गर्ने जनाए ।

अन्नपूर्ण गाउँपालिका वडा ४ का वडाध्यक्ष आइन्दल गुरुङले भदौरे विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुलाई प्रोत्साहन गर्नपनि उनले आग्रह गरे । त्यस्तै मौले चरचरे बन उपभोक्ता समूहका अध्यक्ष रुपेश गुरुङ, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सहसचिव तारकाजी गुरुङ, महोत्वस संयोजक मनबहादुर गुरुङलगायतले भदौरे गाउँको विकासलाई अगाडी बढाउन आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए ।

समापन कार्यक्रममा भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले महोत्सव भव्यरुपमा सम्पन्न गर्न साथ दिने सबैप्रति आभार व्यक्त गरे । साथै २०५५ सालदेखि नै युवाहरुलाई खेलप्रति आकर्षण गर्न भदौरे महोत्सवमा विभिन्न खेलहरु राखिदै आएको उनले जानकारी दिए । भदौरे गाउँको पर्यटन र खेलकुदको विकासका लागि भदौरे क्लबको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष गुरुङले बताए ।

महोत्सवमा भएको फुटबल प्रतियोगितामा नौडाँडालाई हराउँदै भदौरे विजेता बनेको छ । भदौरेले ३-१ गोल अन्तरले नौडाँडालाई पराजित गरेको हो । यो सँगै विजेता टोलीले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता बन्दै नौडाँडाले नगद ३५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी सर्वाधिक गोलकर्ताका उपाधि भदौरेका सन्दीप गुरुङ, उत्कृष्ट गोलकिपर नौडाँडाका समिर सुवेदी र उत्कृष्ट खेलाडीको उपाधि भदौरेका बिशाल बिकले प्राप्त गरेका छन् । त्यस्तै मैत्रिपूर्ण भेट्रान्स फुटबल प्रतियोगितामा भने ढिकुरपोखरी विजेता बनेको छ ।

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा भएको महोत्सवमा विशेष सहयोगीको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button