“चिल्ली” साँझमा नेपथ्यले तताएको माहौल

मङ्गलबार काठमाडौँले वर्षकै चिसो दिन भोगिरहँदा पोखरामा पनि केही दिनयता चिसो ह्वात्तै बढेको थियो । पोखरा र काठमाडौँको तापक्रमबीचको फरक सायद मङ्गलबार साँझ पोखराको नयाँबजारमा चर्चित लोक पप ब्यान्ड नेपथ्यको साङ्गीतिक प्रस्तुतिले बनाएको मान्न सकिन्छ ।

देशको पुर्वदेखि पश्चिमी कुनासम्म आठवटा सहरहरुमा भव्य प्रस्तुति दिएर गृहमैदान आइपुगेको नेपथ्यले सधैँजस्तै न्यानो पोखरेली माया पाउन सफल रह्यो । नयाँबजारस्थित प्रदर्शनी केन्द्रको यसै मैदानमा अघिल्लोपटक ब्याण्ड उपस्थित हुँदा लगातारको झरीकै बीच पनि उल्लेख्य दर्शक रुझेरै कन्सर्ट हेर्न आइपुगेका थिए । यसपालि भने बिहानैदेखि हिमाल देखिनेगरि सफा आकाश पाएको पोखराले ब्याण्डलाई अझ गतिलो स्वागत गर्यो ।

आफ्नो माटोमा आइपुग्दा प्रारम्भकै दिन सम्झँदै ब्याण्डले पहिलो गीत ‘आँगनै भरि हिउँ नै झरे, आरु फूल है टिपि राख्नू’ गाएर सुनाएको थियो । नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले झण्डै ३३ वर्षअघि याङ्जाकोटमा रचना गरेको यो गीत ब्याण्डकै पहिलो सिर्जना थियो । यसरी स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३२ वर्षमा गरेको यात्राका झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो ।

दोश्रो प्रस्तुती ‘भेँडाको ऊनजस्तो’ लाङटाङतिरको संकलन थियो । अर्थात् अब गुरुङहरुको वस्तीबाट केहि पूर्वतर्फ तामाङहरुको क्षेत्रमा कार्यक्रमले प्रवेश गर्यो । पोखराबाट उदाएको यो ब्याण्ड यतिन्जेल सिंगो नेपालकै साझा सम्पत्ति बनिसकेको छ। त्यसैले त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट संकलन गरिएका भाकाहरुलाई रक धुनसँग जोडेर यसले नेपाली पहिचानको कोशेलीका रुपमा संसारलाई सुनाउँदै आइरहेको छ ।

तेश्रो गीत फेरि स्थापना कालतिरकै पुरानो ‘छेक्यो छेक्यो देउराली डाँडा’ थियो । यो त झनै ब्याण्डलाई स्थापित गराउने सिर्जनाको रुपमा सबैले चिनेको गीत । ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको शुक गुरुङ सिर्जित यो गीतमा पोखरेली दर्शकहरु अझ रमाए । अब भने पोखरेलीहरुसँग अमृतले साक्षात्कार गर्ने पालो आइपुग्यो । ‘बिहान झलमल्ल हिमाल देखेर म पोखराको मान्छेको धेरै दिनदेखिको न्याश्रो मेटियो’ अमृतले यसरी यस ठाउँसँगको आफ्नो सामिप्य प्रकट गर्नासाथ विशाल दर्शक घेरा खुशीले उत्तेजित भएको थियो

कार्यक्रममा अमृतले लाहुरेहरुबाट भित्रिएको गीत ‘नैनाताल’ गाउनुअघि मुलुकले भोग्नुपरेको युवा पुस्ताको पलायनबारे चिन्ता प्रकट गरेका थिए ।
‘हाम्रा बाउ बाजेहरु धेरैजसो रहरले लाहुरे भएका थिए । तर, हिजोआज करैले पनि नेपाली तन्नेरीहरु विदेशिनुपर्ने भएको र यो संख्या दिनदिनै बढ्दै गइरहेको छ,’ उनले दर्शक दीर्घामा हेर्दै अनुरोध गरे, ‘यहाँ आउनुभएका गण्डकीका ठूलाबडाहरुले रोजगारीको अवसर सिर्जना गरेर तन्नेरीहरुलाई आफ्नै ठाउँमा बस्ने वातावरण बनाइदिनुस् है ।’ प्रत्युत्तरमा दर्शकदीर्घाबाट समर्थनको ठूलो आवाज आएको थियो ।

यसअघि मुलुकभर यात्रा गरेर आएको गुरुङ र उनको टोलीलाई आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गरेका थिए । त्यसैगरि कन्सर्टको अघिल्लो दिन सोमबार मात्रै पोखरा–२५को हेम्जा बाबियतारास्थित ‘मानव सेवा आश्रम’मा नेपथ्य टोलीले भ्रमणगरेको थियो । त्यतिबेला अमृतले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए । त्यस अवसरमा नेकपा एमालेको प्रदेश संसदीय दल प्रमुख खगराज अधिकारीलगायतका नेताहरुले पोखराबाट उदाएको नेपथ्यले सिँगो नेपाली पहिचानका लागि दिएको योगदानको चर्चागरेका थिए ।

मंगलबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा नयाँबजारस्थित मैदानमा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थाले, ‘भर्खरै चुनाव सकिएको छ । घर–घर विभाजित भएको छ । तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ । हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ । हामीले गाउँ गाउँमा अस्पताल पुर्याउनका निम्ति जोडिनै पर्छ ।’ धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकलाई अझ भावनात्मक बनाएको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो । कन्सर्ट हेर्न आएका साना नानीहरुलाई भने मञ्चको ठीक अगाडि सुरक्षित तवरले रमाउन सक्नेगरि बन्दोबस्त मिलाइएको थियो ।

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए । संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले पोखरामा लगातार नवौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे ।

‘यो सहरबाटै जन्मेको नेपथ्यले मुलुकभरि मानवताको उज्यालो फैलाउने संकल्प बोकेको मानवसेवा आश्रमसँग मिलेर सहकार्य सुरुगरेको छ,’ उनले भने, ‘यो अठोटलाई आज देखिएको पोखरेली दाजुभाइ दिदीबहिनीको मायाले थप बलियो बनाएको छ ।’ मानव सेवा आश्रमसँग युवा पुस्तालाई जोड्न भरमग्दुर प्रयास चलिरहेको बेला यो कन्सर्टले त्यो उद्देश्यमा सघाउ पुर्याउने विश्वास पनि उनले प्रकट गरे ।

पोखराको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् बुधबार नै काठमाडौँतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित भृकुटीमण्डपमा नेपथ्यले पुस १६ गते शनिबार प्रस्तुत हुँदैछ ।

यसरी मंसिर १६ गते बिराटनगरबाट सुरुभएको मानवताको लागि नेपथ्यको देशव्यापी यात्रा ठीक एक महिना लगाएर पुस १६ गते सम्पन्न हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button