
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्योगी व्यवसायी र सरकारी निकायहरूले श्रमिकको सुरक्षाको विषयलाई आफ्नो पहिलो शर्त र प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
देश विकास र समृद्धिमा महत्त्वपूर्ण भुमिका खेल्ने श्रमिकहरू उत्पादन र निर्माणका मेरुदण्डको रूपमा रहेको हुँदा उनीहरुको हक र सामाजिक सुरक्षामा बनेका नीति नियमलाइ कडाइका साथ व्यवहाआ उतार्नु पर्नेमा जोड दिए । यसअघि जारी भएका सामाजिक सुरक्षा ऐनलगायत सम्पूर्ण नियमको प्रभावकारी कार्यान्वयनमा रोजगारदाताहरूलाई ध्यानाकर्षण गराउँदै राज्यका तीन तहका सरकारले नियमनमा पनि विशेष ध्यान दिनुपर्ने पौडेलले उल्लेख गरे ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरको आयोजना र श्रम तथा रोजगार कार्यालय पोखराको समन्वय मा पोखराका उद्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिकहरूका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धित चार दिने सचेतनामुलक तालिममा पौडेलले सो कुरा बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त तालिम श्रमिकको सुरक्षा र स्वास्थ्यका बारेमा सुसूचित गराउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखरामा कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल , पोखरा औधोगिक क्षेत्र व्यवस्थापन कार्यालका प्रमुख किशोर पाण्डे , सो औधोगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष रुद्र लाल श्रेष्ठ ,कार्यक्रम संयोजक यमन राना ,लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
चार दिन सम्म चल्ने सो तालिममा पोखराका विभिन्न उद्योग प्रतिष्ठानहरूमा कार्यरत व्यावसायिक ब्यक्तित्व एवम् श्रमिकहरुलाई पेशागत सुरक्षा र स्वास्थ ,कार्यस्थलमा हुने जोखिम र त्यसको न्यूनीकरणमा आवश्यक उपाय ,कार्यस्थलमा हुन सक्ने लागू औषध र लैङ्गिक हिंसा ,सुरक्षा उपकरण ,आकस्मिक तयारी ,श्रम ऎन तथा नियमावली सम्बन्धि कानुनी व्यवस्था लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैंबु भैसेपाटी ललितपुरका रसायनविज्ञ सतिश कुमार उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





