आहा ! रारा गोल्डकपमा आज नेपाल पुलिस र चर्च ब्वाइज् भिड्दै, आयोजक सहारा बाहिरियो

पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् ।

हिजोदेखि पोखरा रंगशालामा भएको शुरु भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा धरान फुटबल क्लबले आयोजक सहारालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उद्घाटन खेलमा आयोजक सहारालाई १–० गोल अन्तरले निरास बनाउँदै धरानले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

खेलको पहिलो हाफको पाँचौँ मिनेटमा धरानका प्रकाश बुढाथोकीले गरेको एकमात्र गोल टोलीको जित निकाल्न पर्याप्त भयो । सहाराका भागवत चौधरीले डिबक्स बाहिर फाउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । प्राप्त मौकालाई बुढाथोकीले सदुपयोग गरी खेलमा अग्रता बनाउनुभएको हो ।

खेलमा निर्णायक गोलकर्ता बुढाथोकी खेलमा ‘म्यान अफ दी म्याच’ समेत घोषित हुनुभयो । पहिलो हाफमा एक गोलले पछि परेको सहारा खेलमा फर्कन अन्तिमसम्म प्रयास गरे पनि सफल हुन नसक्दा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको हो ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो २२औँ संस्करण हो । प्रतियोगितामा साविक विजेता एपिएफ फुटबल क्लबसहित १० टोलीको सहभागिता छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले रु आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारबाट नेपाली राष्ट्रिय फुटबल टोलीका सेन्टर डिफेण्डर अनन्त तामाङलाई नगद रु ५० हजार पाँचसहित सम्मान गरिएको थियो । पोखरा महानगर प्रमुख आचार्य, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ लगायतले तामाङलाई सम्मान गर्नुभयो ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कृत गरिएको सहाराले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button