जापान सरकारले टोकियो छोड्ने परिवारलाई प्रति सन्तान १० लाख दिने

जापान सरकारले राजधानी टोकियो शहर छोडेर स्थानान्तरण हुने परिवारलाई प्रति सन्तान १० लाख येन उपलब्ध गराउने भएको छ ।

विश्वमै अत्यधिक जनघनत्व रहेको टोकियोको जनसंख्या घटाउनुका साथै राजधानी आसपासका शहर तथा गाउँको जनसंख्या बढाउने उद्देश्यका साथ उक्त निर्णय लिइएको जनाइएको छ । टोकियो जनसंख्या दशकौं पछि गत वर्ष पहिलोपटक घटेतापनि मुख्य शहर केन्द्रित जनघनत्वलाई घटाउन उक्त निर्णय लिइएको जापानी अधिकारीले जनाएका छन् । टोकियोको मुख्य २३ कोर एरियाका साथै साइतामा, चिबा र कानागावामा बस्ने परिवारका लागि उक्त सुविधा दिइनेछ । योजनामा त्यहाँका १३०० नगरपालिका सामेल भएको जनाइएको छ जुन कुल नगरपालिकाको करिब ८० प्रतिशत हो ।

३ करोड ५० लाख जनसंख्या भएको टोकियो विश्वकै सबैभन्दा ठूलो महानगर पनि हो । अत्यधिक जनसंख्याका कारण उपलब्ध सार्वजनिक साधन स्रोतलाई व्यवस्थापन गर्न टोकियोलाई निकै कठिन हुँदै आएको छ । तीन वर्ष अघि नै ल्याइएको यस स्थानान्तरण योजनाप्रति जापानीहरुले खासै आकर्षण भने देखाएका छैनन् । यसै कारण उक्त योजनाको सहयोग रकम ३ लाखबाट १० लाख येन पुर्याइएको अधिकारीहरुको भनाई छ ।

योजना शुरु भए पछि सन् २०१८ मा ७१, सन् २०२० मा २९० र सन् २०२१ मा ११८४ परिवार मात्रै सो योजनाबाट स्थानान्तरण भएको जनाइएको छ । सहयोग रकम बढाएसँगै जापान सरकारले सन् २०२७ सम्म करिब १० हजार मानिसलाई टोकियोबाट गाउँहरुमा सार्ने लक्ष्य लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button