तनहुँको म्याग्देमा दश शय्याको अस्पताल बन्दै

तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो ।

विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । भवन निर्माणको ठेक्का ऋषि शक्ति-होम निर्माण जेभी कम्पनीले पाएको छ ।

उक्त भवन विसं २०८० जेठ १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुल लागत रु १० करोड ५० लाख ४२ हजार दुई सय ७५ रहेकामा बोलपत्रमार्फत रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ मा ठेक्का लागेको हो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णयबमोजिम अस्पताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार एचए, दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहनेछ । अस्पताल निर्माण सम्पन्न भएपछि म्याग्दे गाउँपालिकावासीलाई आधारभूत तहको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास लिइएको छ ।

“मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा परेको सन्दर्भमा यो अस्पतालको सुरुआतसँगै जटिल प्रकारको सेवा सञ्चालनमा जोड दिनेछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button