संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा, भोलि चर्च ब्वाइज र भुटानी युथबीच खेल हुने

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट जित निकाल्दै सङ्कटाले फाइनल यात्रा तय गरेको हो ।

सङ्कटाका लागि स्टेफन विनोङ र मेसुकेले दुई-दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका स्टेफनले ६१औँ मिनेटमा दोस्रो गोल गरे । मेसुकेले ४३ औँ र ८६औँ मिनेटमा गोल गरे । सङ्कटाका दुवै फरवार्डर क्यामरुनी हुन् । ७४औँ मिनेटमा हरी कार्कीको सान्त्वना गोलसँगै एपीएफले सङ्कटासँगको अग्रता घटाए पनि खेलमा फर्किन भने सकेन ।

विपक्षीलाई खेल अवधिभर दबाबमा राख्न सफल सङ्कटाका स्टेफन म्यान अफ् दि म्याच घोषित भए । सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको सङ्कटाले विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनबाट फाइनल पुग्न सफल भयो । सङ्कटा क्लबका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरे ।

उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए । प्रशिक्षक खड्गीका अनुसार सङ्कटाका लागि यस प्रतियोगिता वर्षको पहिलो हो । घरेलु लिग फुटबलपछि उक्त टिमले कुनै पनि प्रतियोगिता खेल्न पाएको थिए ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले रक्षापङ्क्ति कमजोर हुँदा टिमले हार व्यहोर्नुपरेको स्वीकार गरे । उनले गोलको अवसर पाए पनि प्राविधिक पक्ष नमिल्दा टिम सफल हुन नसकेको बताए । विपक्षी टिममा रहेका विदेशी खेलाडीलाई गोल गर्नबाट आफ्ना खेलाडीले रोक्न नसकेको उनले उल्लेख गरे ।

सङ्कटाले अब बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनलका लागि बिहीबार ब्वाइज युनाइटेड र भूटानी युथ स्पोर्ट्स क्लबबीच खेल हुनेछ । फाइनल खेल शनिबार हुने प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगितका विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख पुरस्कार पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button