चिसोमा सुरक्षित रहन मनाङवासीलाई आग्रह

हिमाली जिल्ला मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको छ ।

जाडोयाममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन तथा जोहो गर्न र हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताउनुभयो । उहाँका अनुसार हिमपातको समयमा न्यानो कपडा, सिरक, कम्बलजस्ता कपडाको प्रयोग गर्न अनुरोध गरिएको छ ।

हिमपातको समयमा चिसो बढ्ने तथा अत्यधिक हुरी/बतास चल्ने भएकाले न्यानो भएर बस्न सुझाव दिइएको उहाँले बताउनुभयो । हिमपातपश्चात् हिम पहिरा जान सक्ने भएकाले त्यस्ता सम्भावित जोखिमयुक्त क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ ।

चिसोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ध्यान राख्न र हिमपातको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म बाहिर खुला नछाड्न सूचित गरिएको छ । पशुपन्छीलाई गोठ तथा टहरामा राखेर घाँस, पराल तथा दाना दिने व्यवस्था गर्न भनिएको छ ।

चिसो मौसममा कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्न सक्ने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ । बिरामी परेमा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गई उपचारको पहुँचमा पुग्न सुझाव दिइएको प्रजिअ खनालले बताउनुभयो ।

उहाँका अनुसार घरपालुवा जनावर बिरामी भएमा नजिकैको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सकलाई देखाएर उपचार गराउन अनुरोध गरिएको छ । होटल तथा कोठामा आगो बाल्दा, हिटर तथा गिजर प्रयोग गर्दा पर्याप्त मात्रामा भेन्टिलेसनको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।

चिसो बढेसँगै हुनसक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी रहन जिल्लावासीमाझ अनुरोध गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button