गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारीले दावी पेश गर्दै

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न आज नेकपा एमालेका खगराज अधिकारीले ३२ सांसदको समर्थनसहित दावी पेश गर्ने भएका छन् ।

गण्डकी प्रदेश एमालेको ससंदीय दलका नेता अधिकारीलाई नेकपा एमालेसहित माओवादी र राप्रपाको समर्थन रहेको छ । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री चुनिन ३१ मतको आवश्यकता रहन्छ जसमध्ये एमालेसँग आफ्नै २२ सांसद छन् भने माओवादीका ८ र राप्रपाका दुई सांसदको समर्थन पनि अधिकारीलाई रहने छ ।

अन्तिम समयमा कुनै फेरवदल नभए अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की रहेको जनाइएको छ । यस सँगै गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस भने प्रतिपक्षमा रहने भएको छ । काङ्ग्रेसबाट प्रदेशसभामा २७ सांसदको प्रतिनिधित्व रहेको छ । स्वतन्त्रबाट उठेर निर्विरोध निर्वाचित भई नेकपा समाजवादी प्रवेश गरेका दीपक मनाङ्गे भने हालसम्म कुनै पक्षमा खुलेका छैनन् ।

गण्डकी प्रदेश सभामा अघिल्लो प्रदेश सभामा रहेका ४ जना मात्रै यसपालि पनि दोहोरिएका छन् । त्यसैले गण्डकी प्रदेशले मन्त्रीपदमा धेरैजसो नयाँ अनुहार पाउने भएको छ । प्रदेशसभामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा समाजवादी गरि पाँच दलका सांसद मात्र रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button