रोहित पौडेलको कप्तानी पारीमा नेपालको लगातार चौथो जीत

कप्तान रोहित पौडेलले ९५ रनको उत्कृष्ट पारी खेलेसँगै नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत लगातार आफ्नो चौथो खेलमा पनि जीत हासिल गरेको छ ।

आज त्रिभुवन विश्वविद्यालयको मैदान भएको निकै रोचक खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटको झिनो अन्तरले हराएको हो । खेलमा टस हारेर ब्याटिङमा उत्रेको स्कटल्याण्डले आक्रामक शुरूवात गरेको थियो । स्कटिस ओपनर जर्ज मुन्सीले ५० बलमै आक्रामक ६० रन बनाएपछि टोलीले १४ ओभर मै ८९ रन बनाएको छ । तर १४ ओभर अन्तिम दुई बलमा सन्दीपले मुन्सीलाई क्लीन बोल्ड तथा त्यसपछि आएका रिची बेरिङटनलाई शून्य रनमै पवेलियन फर्काएपछि नेपाल खेलमा फर्केको थियो ।

स्कटल्याण्डका लागि म्याथ्यु क्रसले ४२ र ब्रेन्डन म्याकमुलनले ३१ रनको योगदान दिए । क्रीस्टोफर म्याकब्राइड र ओपनर काइल कोत्जरले समान २२ रन बनाउँदा त्यसबाहेक खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करन केसीले तीन तथा कुशल मल्ल र ललित राजवंशीले एक-एक विकेट लिए ।

प्रतिउत्तरमा स्कटल्याण्डले कसिलो बलिङ गरेपछि नेपाली ब्याटिङ दबाबमा देखिएको थियो । ११४ रनमा सात विकेट गुमाउँदा लक्ष्य निकै टाढा देखिएपनि कप्तान पौडेलले निकै संयमतापूर्वक ब्याटिङ गर्दै टोलीलाई जीतसम्म डोहोर्याएका थिए । रोहितले सन्दीपसँग २४ रन तथा करन केसीसँग ७५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । करन केसीले व्यक्तिगत ३१ र ज्ञानेन्द्र मल्लले २१ रन बनाए ।

स्कटल्याण्डका लागि मार्क वाटले ३ र क्रीस गृभ्सले २ विकेट हासिल गरे । यस सँगै नेपालले यस त्रिकोणात्मक सिरिज क्लिनस्वीप गर्दै आफ्नो विश्वकप छनोट खेल्ने आशालाई कायम राखेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button