पृथ्वी राजमार्गको विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घन्टा पुर्णरुपमा बन्द गरिने

पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक विस्तार प्रोजेक्टअन्तर्गत विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घन्टा पुर्णरुपमा बन्द गरिने भएको छ ।

फागुन १८ गतदेखि २७ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी ४ घन्टा यातायात पूर्ण रुपमा बन्द हुने भएको हो । सो क्षेत्रमा रहेको भीरकटान कार्यका लागि अत्यावश्यकबाहेक सवारी आवागमन पूर्ण रुपमा बन्द गर्न लागिएको हो । पृथ्वी राजमार्ग विस्तारका क्रममा सडक छेउका भीरहरु कटान गर्दा माटोका ढिस्का तथा स-साना पहिरो झरेर पछिल्ला दिनमा सवारी आवागमन निरन्तर प्रभावित भइरहेको छ ।

जामुनेदेखि पोखरातर्फको पश्चिम खण्ड र मुग्लिनदेखि जामुनेसम्मको पूर्व खण्ड गरि दुई भागमा विभाजन गरि सडक विस्तार कार्य जारी रहेको छ । तर रुखकटान, बिजुलीको पोल, निर्माण सामाग्री ढुवानीलगायतका विभिन्न समस्या देखाउँदै प्रोजेक्ट भने निकै सुस्त गतिमा अघि बढेको छ । दुवै खण्डको सडकको ठेक्काको म्याद तीन-तीन वर्ष रहेपनि २०७८ को शुरुवात बाटै शुरु भएको निर्माणकार्यको भौतिक प्रगति १० प्रतिशतको हाराहारीमा रहेको छ । ठेक्का सम्झौता अनुसार पूर्व खण्डको सडक २०८१ को वैशाखसम्म सम्पन्न हुनुपर्नेछ भने पश्चिम खण्ड २०८१ को भदौसम्म तयार भइसक्नुपर्नेछ ।

काठमाडौँलाई देशको पश्चिमी पहाडी र हिमाली जिल्ला जोड्ने प्रमुख सडक पृथ्वी राजमार्गलाई ४ लेन विस्तार गर्न एसियाली विकास बैंकले ऋण सहयोग गरेको हो । विस्तार पछि राजमार्ग ४१ देखि ४६ मिटरसम्म चौडा बन्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button