कृषक सम्मान गर्दै सकियो आलु महोत्सव

पोखरा, ३ बैशाख । चैत २६ गतेदेखि सुरु ११ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतबार सकिएको छ । समापन समारोहमा कृषि एम्बुलेन्स प्रदर्शनी, कृषक परिचयपत्र वितरण, कृषक सम्मान लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मान पत्र सहित नगदले सम्मान गरिएको हो । कृषि तथा पशु विकास शाखाले किसान परिचय पत्र पनि वितरण गरेको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले सराहनीय कार्य गरेको चर्चा गर्नुहुँदै आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए ।उनले एक वडा एक उत्पादन गर्ने उद्देश्यका साथ महानगर अगाडि बढिरहेको छ भन्दै कृषिलाई आयआर्जनसँग जोडे मात्रै समृद्धि हासिल हुनसक्ने पनि औँल्याए । क्लबको बहुउद्देश्यीय भवन निर्माणमा पनि महानगर सहयोग गर्न तत्पर रहेको पनि उनले स्पष्ट पारे ।

पोखरा २५ हेमजाका वडाध्यक्ष एवम् महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आलु महोत्सवको चर्चा देश विदेशमा हुने गरेकोमा खुसी व्यक्त गरे ।प्रवक्ता तिम्सिनाले महोत्सवमा महानगरको कृषि महाशाखाको भूमिका प्रशंसनीय रहेको पनि जनाए ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले हेमजामा लगाइने एसएमएस ४२ जातको आलु उन्मोचनमा निर्देशनालयको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै आलु उत्पादन गर्ने क्षेत्र घट्दै जानु दुःखद भएको औँल्याए ।

त्यस अवसरमा पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँ, विष्णुपादुका माविका अध्यक्ष कृष्ण नेपाली, महिला सञ्जाल हेमजा अध्यक्ष रमा त्रिपाठी, मानव सेवा आश्रमका अभियन्ता मदन थापा, कृषि सञ्जालका अध्यक्ष राजेन्द्र कार्की लगायतले धारणा राखेका थिए।

महोत्सवमा करिब पाँच करोड रुपैयाँका कारोबार भएको छ । आलु मात्रै ८० टन बिक्री भएको छ । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए ।

महोत्सवकै अवसरमा भएका रत्यौली गीत, झाँकी प्रदर्शनी लगायतका सहभागीलाई क्लबले सम्मान गरेको छ । त्यस्तै प्रत्येक आमा समूहलाई दुई वटाका दरले कुर्ची समेत प्रदान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button